माअोवादीलार्इ झट्का लाग्ने सर्त राजपाले प्रधानमन्त्री ओलीलार्इ तेर्स्यायो, अब के होला ?

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । राजपाका महासचिव मनिष सुमनले सरकारमा जान तीनवटा ठोस प्रस्ताव राखेको जानकारी दिएका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-‘प्रधानमन्त्रीको सार्वजनिक प्रतिवद्धता व्यक्त गरिदिए पुग्छ, पहिला जस्तो ४५ औँ पटक वार्ता र ३० औँ बुँदे सम्झौता गरी रहन पर्दैन,’ उनले भने ।

सुमनले प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता आएमा तत्काल केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने बताए । प्रदेश सभा सदस्य रहेका सुमनले यथार्थमा राजपालाई सरकारमा समावेश हुने जानदेश नभएको प्रष्ट्याएका छन् ।

उनले भने, ‘हामीलाई सरकारमा समावेश हुने जनादेश छैन, तर देश बनाउने सहकार्य गरौँ भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएकोले हामी तयार भएका हौं ।’

के हुन् शर्त ?

राजपाले मुद्दा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफी लगायतलाई सहिद घोषणा गर्नु पर्ने र संविधान संशोधन गर्नुपर्ने ठोस प्रस्ताव राखेको छ ।

महासचिव सुमनका अनुसार राजपाले ठोस प्रस्तावमा सरकारको दृष्टिकोण सार्वजनिक रुपमा आउनुपर्ने माग गरिएको छ । उनले तीन प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता आएमा सरकारमा जाने बताए । राजपा महासचिव सुमनले सरकारमा जान राजपाले सम्झौता वा वार्ता गर्न नचाहेको बताए ।

ओलीले ठाकुरलाई बोलाए

सुमनले प्रधानमन्त्रीद्वारा राजपा संयोजक महन्थ ठाकुरलाई बोलाएर सरकारमा आउन आग्रह गरेको बताए । ‘सरकारमा आउन प्रधानमन्त्री ओलीले हाम्रा संयोजकलाई बोलाएर आग्रह गर्नुभयो’, उनले भने ।

आइतबार सरकार जाने विषयमा राजपा संयोजक ठाकुर र प्रधानमन्त्री ओली सकारात्मक छलफल भएको थियो । छलफलमा ठाकुरले संविधान संशोधनमा राजी भएमा सरकारमा जान सकिने बताएका थिए।

प्रधानमन्त्री ओली पनि संविधान संशोधनमा सकारात्मक देखिएका छन् । त्यसपछि राजपा नेता र प्रधानमन्त्रीबीच सरकारमा जाने सन्दर्भमा पटक पटक औपचारिक र अनौपचारिक कुराकानी भइरहेको छ ।

संविधान संशोधनमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपछि नै संघीय समाजवादी फोरम सरकारमा जाने भएको हो । फोरम सरकारमा जाने भएपछि राजपा सरकारमा जान आतुर रहेको तर ‘सेफ ल्याण्डिङ’को लागि प्रस्ताव राखेको एकथरीको भनाई रहेको छ ।

फोरमले गर्दा तनाव

संघीय समाजवादी फोरम सरकार जाने भएपछि राजपामा समेत सरकारमा जाने विषयमा छटपटी भएको छ । फोरमलाई मात्रै वाम गठबन्धनले आमन्त्रण गरेपछि राजपामा तनाव बढेको हो ।

राजपा सरकारमा जाने संभावना बढेपछि फोरमले समेत हतार हतार सरकारमा जाने औपचारिक निर्णय गरेको छ । प्रतिनिधि सभामा राजपाको १७ सिट रहेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ११ र समानुपातितर्फ ६ सिट जितेको छ । प्रदेश २ मा राजपाले २५ सिट जितेको छ । प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार छ । फोरम–राजपा सरकारलाई वामगठबन्धनको समर्थन छ ।