नारी दिवसको दुःखान्तः तारे होटलमा चियर्स, सोलुमा सुत्केरीको प्रणान्त

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

सोलुखुम्बु । राजधानीलगायत देशभर आज नारी दिवस मनाइयो । महिला हक अधिकारका पक्षमा चर्का भाषणदेखि तारे होटलमा ह्विस्कीको चियर्ससम्मका दृश्य देखिए । राजधानीमा आधुनिक नारीले दिवसको मज्जा लुट्दै गर्दा उता सोलुखुम्बुमा भने अनिषाको उपचार नपाएर प्राण गयो ।

बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका–८, देउसाकी १८ वर्षीया अनिषा राईको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचार नपाएर ज्यान गएको हो । सामान्य तरीकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा राजेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आज अपराह्न १ः४५ बजे छोरालाई जन्म दिएकी राईको सालसँगै पाठेघरसमेत योनीमार्गमा आएर अत्याधिक रक्तश्राव भएको डा बस्नेतले बताए । ‘तत्काल उपचार सम्भव नभएपछि जनरल एनेस्थेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो’, उपचारमा संलग्न डा दिलीप कोजुले भने, ‘पूरै शरीर बेहोश बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या शल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि बाहेक अन्यमा उपलब्ध हुँदैन, त्यसैले रेफर गर्नुको विकल्प थिएन ।”

“अत्यधिक रक्तश्राव हुन थाल्यो, ओ पोजेटिभ रगत आवश्यक पर्ने भएपछि अस्पतालक स्वास्थ्य सहायक आङलह्मु लामाले रगतसमेत दिनुभएको थियो”, डा बस्नेतले भने, ‘मिशन अस्पताल ओखलढुंगामा सम्पर्क गरी थप उपचारका लागि तत्काल जीप खोजेर डा कोजु र स्टाफ नर्ससहित त्यसतर्फ लागेका थियौँ, सुत्केरीको बाटोमै मृत्यु भयो ।

सुत्केरी बचाउन रगतसहित गए पनि करीब २० किमीको दूरीमा पर्ने तिङ्लाको रमितेमा उनको मृत्यु भएको थियो । आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् । बाटामै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुनः जिल्ला अस्पताल फाप्लु नै फर्काएर इसिजी गरिएको थियो । सुत्केरीको जेठाजु नाता पर्ने थामकुमारले भने, “जिल्लामा स्रोतसाधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै ज्यान गयो, राज्यले ध्यान दिनु जरुरी छ ।”