बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यस्तो भन्यो

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ ।

बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ नगद पुरस्कारसहित कारको साँचो पनि हस्तान्तरण गरिसकिएको जानकारी गराएको छ ।

 

‘तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ’, अन्नपूर्ण मिडिया नेट्वर्कको टेलिभिजन एपीवान एचडीले भनेको छ, ‘पुरस्कारमै पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहबीच बुझाइसकिएको छ । त्यही बेलादेखि उक्त कार उनी सँगै छ ।’

कारको स्वामित्व लिन बुझाइनुपर्ने कर तिर्ने जिम्मा बुद्धको भएको जनाउँदै कहाँ, कसरी र कति रकम तिर्नुपर्ने कुरा पनि बुद्धलार्इ जानकारी गराइसकिएको एपी वानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई २५ प्रतिशत आकस्मिक लाभ कर तिर्नुपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराइएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘उक्त कर तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौँ ।’