प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा विप्लव समूहलाई कडा चेतावनी

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, २६ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका छन् ।

एक  विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राईले भने,‘विप्लव समूह अब संविधानको मुल दायराभित्र आएर हिँड्नुको विकल्प छैन, सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरताका साथ प्रस्तुत हुन्छ।’

मुख्यमन्त्री राईले आगामी चैत्र १५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीच बृहत्त एकता घोषणा हुने पनि जनाए । उनले भने,‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत्र १५ गतेभित्रै पार्टी बाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ।’

मुलुकमा अब अस्थिरता र अराजकताको कुनै गुञ्जायस नभएको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने,‘अब अराजकताको कुनै गुञ्जायस छैन, जनताको चाहना र सपना एउटै भएकोले समृद्धि हाँसिल गर्ने दिशामा हामी अघि बढ्छौं, यो भन्दा अर्को एजेण्डा छैन, समृद्धिको यात्रामा सबै दलहरु सरिक हुनुपर्छ।’

उनले आफूहरु अहिले कानून निर्माण गर्ने काममा जुटेको पनि जानकारी दिए । यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्वाचनको पछिको संघीय संरचना बनाउने काममा ध्यान नदिएको गुनासो पोखे । ‘दुर्भाग्य नै भन्नुपर्छ, अघिल्लो सरकारले निर्वाचनपछि चाहिने संघीय संरचनाको लागि कुनै ध्यान दिएन, व्यवस्थापन गर्ने कुरामा पनि चुक्यो’–उनले थपे।