राधालाई ६ घण्टासम्म यातना दिँदा दर्शक बनेका मेयर भन्छन्- मेरो काम त्यो होइन,मलाई त्यसमा चासो छैन

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौँ । बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए ।

इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए ।

बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा पनि दर्शक भएका घोडाघोडी नगरपालिकाका मेयर चौधरीसँग नयाँ पत्रिकाका प्रतिनिधिले गरेको कुराकानीः

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?

पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसो भए किन जानुभएको त चौकीमा ?

बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?

त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जानकारी भएन ।

आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?

मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?

त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।