कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एमाले–माओवादीबीच पार्टी एकता हुने

प्रकाशित मिति : : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौँ,२७ फागुन – नेकपा एमाले र माओवादी केन्द्रले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर देशका दुई ठूला वाम पार्टीहरू औपचारिक रूपमा एक हुने भएका हुन् ।

एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टीका कमिटी विघटन गरेर सो दिन एकीकृत पार्टीको स्थायी समिति र केन्द्रीय समिति घोषणा गर्नेछन् ।

माअ‍ोवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले वैशाख ९ गते दुई पार्टी एक हुने दाबी गरे । ‘नेपाल कम्युनिष्ट पार्टी गठन भएको अवसर पारेर वैशाख ९ मा एकता घोषणा हुने सम्भावना छ,’ नेता नारायणकाजी श्रेष्ठले भने, ‘यसको अन्तिम निर्णय भने एकता संयोजन समितिले गर्नेछ ।’ एकता घोषणालगत्तै कानुनी रूपमा पार्टी एक बनाउन निर्वाचन आयोगमा दल दर्ता गरिने उनले जानकारी दिए ।

गत फागुन ७ मा भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ । एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ । एमालेले अवलम्बन गर्दै आएको जनताको बहदुलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गरिआएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादसम्बन्धी विषयमा छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमतिपत्रमा छ ।