Live_Now : ‘गर या मर’को स्थितिमा हङकङबिरुद्ध भिड्दै नेपाल, के सुपर सिक्समा पुग्ला त नेपाल ?

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह (बी) को खेलमा नेपालले सोमबार (आज) हङकङबिरुद्ध खेल्दैछ ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ । तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह (ए) को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

स्कटल्याण्डजस्तै समूह (ए) बाट युएई र (बी) बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो  यसपटकका लागि सकिनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने-सामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ ।