हवाई दुर्घटना दोहोरिन नदिन उपाय खोजिने छ – प्रधानमन्त्री ओली

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

oli

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु लिएर काठमाडौंँ आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाउनुभएका नेपाली÷बंगलादेशीलगायत सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गरी उहाँले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएका यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । सो त्रासदीपूर्र्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गरेको जनाउँदै उहाँले यस्ता प्रकृतिका घटना दोहोरिन नदिन उपाय खोजिने बताउनुभएको छ ।

दुर्घटनामा परेका यात्रुको शीघ्र उद्धारमा तदारुकताका साथ घटनास्थलमा खटिनु भएका नेपाली सेनालगायत सुरक्षा निकाय, नेपाल नागरिक उड्ययन प्राधिकरण, दमकल, एम्बुलेन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राष्ट्रसेवक कर्मचारीसहित घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।