राष्ट्रपति बिद्या भण्डारीकी ७६ वर्षिया आमा वृद्धाश्रममा,यसरी चल्छ उनको दैनिकी,यसो भनिन् छोरीलाई

प्रकाशित मिति : : आइतवार, चैत्र २५, २०७४

रातभरिको यात्राले समेत अन्तिम गन्तब्य पेला परेन । उज्यालो भएपछि एक गिलास दूध हालेको बाक्लो चिया पिएर केहीबेर घुक्रुक्क सुत्ने चाहना फिक्का भयो । जब गाडीका चक्काहरुले मधेशको माटोमा टेक्यो तब स्थानीय बासिन्दाहरु लोटा उचालेर यत्रतत्र दौडिरहेका भेटिए ।

मैले सोचे, आहा ! अब त बिहान भएछ । तर बिहान हुनु भनेको उज्यालो हुनु हैन, उज्यालो हुनु भनेको बिहान हुनु हैन रहेछ । यस्तो लाग्यो कि, ‘हुँदैन बिहान मिर्मिरेमा दुई–चार लोटा देखेर नगए ।’ यिनै कुरा गम खाँदै दिउँसोको १२ बजे तिर म सुनसरी जिल्लाको चतरा पुगे । चतरामा एउटा वृद्धाश्रम छ, जहाँ सम्मानीय राष्ट्रपति बिद्या देवी भन्डारीकी ममतामयी आमा मिथिला पाण्डे बस्नुहुन्छ । लामो समयदेखि उहाँ त्यो आश्रममा बस्दै आउनु भएको छ ।

वृद्धाश्रमको गेट भित्र छिरेपछि पलास्टिकको कुर्सिमा एकजना आमा बसिरहेको देखें । आडैमा कपाल फुलेकी अर्की आमालाई देखेपछि पक्का भयो – राष्ट्रपतिकी आमा उहाँ नै हुनुपर्छ ।

सफा लुगामा बसिरहेकी उहाँको स्वभाव शान्त थियो । मैले नमस्कार गरें । समान्यतया हामी नेपालीहरु पहिलो पटक भेट्दा जे जस्तो कुराकानी गर्छौं, त्यही भयो ।

आमाले भन्नुभयो, ‘बाबु तिमि काठमाण्डौबाट आए जस्तो त लागेन ।’ पक्कै पनि लखतरान बनेको यो ‘भातमारा’ शरीर काठमाडौंबाट आए जस्तो थिएन । काठमाडौंका मान्छेमा अलिक फुर्तिफार्ती, हाटहुट हुन्छ । कमिजको टाँक पनि पुरै नलगाएको, जुत्ताका तुनाहरु फुस्केर लत्रे जस्तो, भालेकट कपाल एकदम कडा जेल दलेर ठाडो परेको । सिङ्गो गाँउ लुट्न जाँदा सात दिन नसुतेको लुटेराको जस्तो जस्तो लाग्थ्यो मेरो शरीर आफैंलाई । मेरो पूर्णकदको हुलिया देखेर सम्मानीय राष्ट्रपतिकि आमा मिथिला पाण्डे डराउनु भएछ ।

मैले भने, ‘आमा, म काठमाडौंबाटै आएको हुँ, फिकर नगरिस्यो ।’

खाइस्यो, बसिस्यो, गइस्यो जस्तै यो ‘नगरिस्यो’ किन भनेको भने, मेरो एकजना ठकुरी साथी थियो । विचरा उ निमुखा थियो । तर एकबारको जुनीमा उसको दावी थियो, ‘म राज खानदानी कुल घरानको हुँ । बोलि वचनमा सभ्यता देखाउनुपर्छ ।  कहिलेकाँही मलाई ‘खुकुरी रम खाइसिन्छ ?’ भन्थ्यो ।

राष्ट्रपतिकी आमा मिथिला पाण्डेसँग कुरा गर्दाका वाक्यहरुमा मैले ‘स्यो’ भनिरहे।

जस्तो कि आमा सञ्चै होइसिन्छ ? खाना खाइस्यो? अलि यता बसिस्यो, मेरो कुरा बुझिस्यो । यस्तै, यस्तै ।

आमाले भन्नुभयो ‘हेर्नुहोस् बाबु, धेरै समय पहिला यस्तै एकजना मान्छे आएको थियो । क्यामेरा पनि बोकेको थियो । सबैले चिन्छन्, लोकप्रिय पत्रकार हुँ भन्थ्यो । त्यस्तो केही हुन्न मनमा लागेका कुरा भनिदिनुहोस् भन्यो । मैले सुखदुःखका कुरा गरें । तर उसले त सबै उल्टो–उल्टो पो लेखेछ । मैले भनेको कुरा त केही पनि लेखेनछ । उसको मनमा लागेको कुरा लेख्न मलाई भेट्न किन पर्यो त ? कोठमा बसेर जे लेखे नि भयो नि !’

म खिस्स हाँसे।

‘म पत्रकार हैन आमा, उल्टो–उल्टो लेख्ने त्यो को होला चिन्दिन । म त्यस्तो लोकप्रिय नि छैन । बराहा क्षेत्रमा भगवानको दर्शन गर्न आएको थिएँ । पाथिभरासम्म जाने विचार छ । केही मित्रहरुले आमाको समाज सेवाको चर्चा गरेको सुनेको थिएँ । तपाईं बस्ने यो घर बाटो मै पर्ने रहेछ । किन नभेट्ने भन्ने लाग्यो । फेरी तपाईं समान्य आमा पनि हैन । यो देशको राष्ट्रपतीको आमा हुनुहुन्छ । हजुरको दैनिकीप्रति सबैको चासो हुने रहेछ ।’
आमा मुस्कुराउनुभयो ।

यसभन्दा अगाडि निजी मामिलामा धेरै बोल्दा समस्या आएको र जो पायो त्यो सँग नबोल्नु भनेर छोरी, नातिनीहरुले सम्झाएको आमाले बताउनुभयो ।
‘राष्ट्रपती मेरो छोरी हो, म त हैन नि । आफ्नो–आफ्नो चाहनाको कुरा हो । खुसी जे गर्दा भईन्छ त्यही गर्ने हो,’ आमाले थप्नुभयो, ‘मलाई यो वृद्धाश्रममै स्वर्गीय आनन्द छ ।’
त्यसपछी मैले उहासँग केही प्रश्न संवाद गरेँ जुन जस्ताको त्यस्तै यहाँहरु समक्ष पेश गर्दछु,

के गरेर दिन विताउँदै हुनुहुन्छ ?

फूल र बिरुवालाई पानी हाल्छु । पूजाआजा गर्छु । यस्तै छ ।

स्वास्थ्य कस्तो छ ? दुःख, बिमार छ कि ?

अब उमेर ढल्केपछि अलि अलि दुःख बिमार भएन भने के मजा भयो र ? तर अहिलेसम्म भगवानको  कृपाले बाँचिरहेकै छु ।

एक्लै टोलाएर बसिरहनु भएको रहेछ । के सोच्दै हुनुहुन्थ्यो ?

कोसँग कुरा गरौं त ? यिनै बृद्ध–बृद्धा हुन् साथीहरु । कोही कान सुन्दैनन्, कोही कुरा बुझ्दैनन् ।

अनि छोरी, नातिनीहरु, आफन्तहरु भएको ठाँउमा जानुहोस् न त…
गएको त हो । अहिले यतै काम छ । बेलाबेलामा जाने–आउने चलिरहन्छ ।

त्यस्तो त पाहुना जस्तो भैहाल्यो नि हैन र ?

हामी सबै दुई दिनको पाहुना नै हौ । यो माया मोहको सांसारिक दुनियामा जति ठूलो महल भए पनि, सुन हिरा मोतीले ढपक्कै ढाकिए पनि आखिर यो भौतिक शरीर त्यागेर जानेबेला एकसरो लुगा नि फुकाल्छन् । जहाँ बस्ने मन हुन्छ, त्यहाँ घर हुन्छ । उहिले–उहिले ओडारमा पनि बस्थे मानिसहरु । आनन्द मिल्छ भने जहाँ बस्दा नि भयो ।

भनेपछि राष्ट्रपति निवासमा बस्दा आनन्द मिलेन ?

यो त कुरा बिगार्ने र उही पहिलाको जस्तो मलाई विवादमा ल्याउने प्रश्न गर्नुभयो । आनन्द भन्ने कुरा कहाँ बस्दा लाग्छ लाग्दैन त्यो आफूले चाहेर मात्र पनि हुँदैन । कतिपय कुराहरु चाहँदा चाहँदै पनि पूरा हुन सक्दैनन् । छोरीले सँगै बसौं आमा नभनेकी हैन । तर मेरो मनले मानेन ।

तपाईंको छोरी राष्ट्रपति भवनमा, तपाई आमा चाँहि वृद्धाश्रममा । यो अलिक सुहाएन कि ?

हो, धरैको प्रश्न यस्तै छ । तर यसको उत्तर दिनु आवश्यक छ जस्तो पनि लाग्दैन । हिजो गाउँमा किसानी काम गरेर बसियो । सुख–दुःख जीवन निर्वाह गरियो । अझै पनि गाँउलेहरु जो मेरा साथिहरु थिए, उनिहरु गाँउमा नै रमाईरहेका छन् । म धर्मकर्ममा विश्वास गरेको मान्छे । पाथिभरा र बराह क्षेत्रको समिपमा बसेको छु । महलको सुख सुविधा किन चाहियो र ?

छोरी महलमा बसेपछि आमा पनि संगै बस्दा के भयो त? एक मुठि चामल बढि पकाउने त हो नि होइन र ?

त्यो मेरो छोरीको निजी घर हैन । देशको सम्पति हो । अब उनीहरु व्यस्त हुन्छन् । त्यहाँ ठूला–ठूला मान्छे आउँछन् । देशको मुख्य नेतृत्वमा बसेका ठूला मानिसहरुलाई स–सना कुरामा किचलो गरिदिनु हुँदैन । वातारवरण सहज गराइदिनुपर्छ । मेरो पो छोरी हो त, देशको राष्ट्रपति हुन् नि उनी । यहाँ आमा–छोरीको, नातापाताको कुरा आउँदैन । चामल त यही प्रश्स्त छ । हाहाहा… (लामो हाँसो )

तर एउटा कुरा, तपार्इं यो वृद्धाश्रममा नबसी नहुने भन्ने त छैन होला नि ?

मैले यशोधा पाण्डेसँग मिलेर २०५८ सालमा यो चतरामा श्री रामकुञ्ज अनाथ महिला आश्रम खोलेकी हुँ । म यो आश्रमको संस्थापक अध्यक्ष हुँ । माया लाग्छ नि । मेरा लागि यो राष्ट्रपति भवनभन्दा ठूलो कुरा हो ।

गाउँमा ६ बिगाहा जमिन पनि छ । त्यहाँको उत्पादन यहि आश्रमको लागी प्रयोग गर्छु । वर्षको ३ महिना काडमाडौंको घर र बाँकी समय मोरङको खेती र आश्रममा बित्छ ।

त्यसो भए काठमाडौमा ३ महिना छोरीसग बस्ने गर्नु भएको छ हो ?

हैन, त्यहाँ मेरा अरु आफन्तहरु पनि छन् ।

अब फेरि छोरी भेट्न जानु हुन्न त ?

किन नजाने ? म फर्किएको धेरै भएको छैन । केही दिन बसँे । पहिला त छोरी भेट्न यही आएकी थिइन् । अहिले फेरि राष्ट्रपति बनेपछि कामको चाप होला । छोरीको फुर्सद मिलेमा हाम्रो भेट पक्कै हुनेछ । हुन त म काठमाडौं गए पनि, छोरी चतरा आए पनि आखिर आमा–छोरीको भेट हुने हो ।

राष्ट्रपती निवास बस्दा कस्तो महसुस भयो नि ?

खुसी लाग्यो । सन्तानको खुसी नै आमाको खुसी हो । राजनीतिमा धैरै पीडा, दुःख, कष्ट बेहोरेकी छोरी आज देशको अबिभावक बनेकी छिन् । रमाइलो पनि लाग्छ । तर आफू बुढी मान्छे, त्यहाँ भजन गाएर समय बिताउने कुरा भएन ।

छोरीसँग वस्दा के गफगाफ गर्नुभयो नि ?

उनीसँग लामो गफ गर्ने फुर्सद छैन । म धेरै कुरा जान्दिन ।  खायो, सुत्यो, उठ्यो । म त बिरामी हुँला जस्तो पो भएँ ।

अबको योजना के छ त ?

यो आश्रमलाई अझै व्यवस्थित र ठूलो बनाउने मन छ । अलि धेरै बृद्धाहरु राख्न सकियोस् । सामाज सेवामा मेरो धेरै रुची छ । उमेर, जाँगर र बल हुदाँसम्म आमा बुवालाई छोराछोरीले हेर्छन् । तर बुढो हुँदै गएपछि आमा बाबुलाई हेर्न गारो मान्दा रहेछन् । सबैका छोराछोरी त्यस्ता हुँदैनन् है फेरि ।

किन यस्तो महशुस भयो तपाईलाई ?

किनभने छोराछोरी अष्ट्रेलिया, जापान, जर्मन, अमेरिकामा बस्छन् । आमाबाबुलाई वृद्धाश्रममा राख्न खोज्छन् । पहिला धेरैले मसँग पनि कुरा गरे । तर यो आश्रमको क्षमता ठूलो छैन । सरकारले सहयोग गर्यो भने भविष्यमा अझै धेरै बावु–आमा राख्न मिल्ने क्षमताको आश्रम बनाउने र छोराछोरीले नहेरेका बाबुआमालाई राख्ने इच्छा छ ।

अफ्ठ्यारो लाग्दैन भने बताईदिनुहोस् न, तपाईको छोरीले (राष्ट्रपती) ले तपाईलाई हेर विचार नगरेको भन्ने आरोप साँचो हो ?

अब भनम् भने त कुरा धेरै आउँछन् हगि । मनको कुरा बोलेर साध्य लाग्ने जमाना पनि छैन । तर खै किन हो म यहि बस्दा खुसी हुन्छु । म यहाँ बस्नुमा न छोरीको दोष छ, न आफन्तहरुको नै । मलाई केहि कुराको कमि छैन । जहाँ बसेपनि के भयो र ? उमेर पुगेपछि छोराछोरी साहारा हो भन्छन् । त्यो समय अझै आइसकेको छैन मेरा लागि । किनभने म स्वस्थ छु, रोग बिमार केहि छैन ।

हल्ला त राष्ट्रपतीले आमालाई वृद्धाश्रममा लगेर राख्नुभयो भन्ने फैलाइएको छ नि ?

यो म अध्यक्ष भएको वृद्धाश्रम हो । छोरिलाई दोष नदिनु ।

आफू अध्यक्ष भएको वृद्धाश्रममा आफू नै बस्नु पर्छ भन्ने पनि छैन होला । तपाई संचाललक पो हो त । यहाँ देशको इज्जतको कुरा हुन्छ, सुरक्षाको कुरा हुन्छ । हैन र ?

मैले इज्जत फाल्ने नराम्रो काम केही गरेकी छैन । पुलिस भाइहरु आउँछन्, कहिले काँहि । के छ आमा हाल खबर भनेर सञ्चो विसञ्चो सोधेर जान्छन् । सायद छोरीले बुझ्न पठाएकी हुन् कि । पुलसिले तपाईं ठूलो मान्छेको आमा हुनुहुन्छ, हामीलाई चिन्ता चासो हुन्छ, केही दुःख समस्या छ भने भन्नुहोस् है, हामी तत्कालै समाधान गर्छौं भन्छन् । म भन्छु – म भगवानको साथमा छु । केही समस्या छैन ।

भगवानको साथमा छु भनेर छोरीको प्रतिष्ठालाई पनि त भुल्नु भएन नि, होइन र आमा ?

प्रतिष्ठा जोगाउन छोरीले राम्रो काम गरुन् । आमाबाट गल्ती भएको कहिल्यै सुन्नु पर्ने छैन ।

तपार्इंको सेवाको भाव देखेर खुसी लाग्यो, अन्तिममा केही भन्नु छ कि आमा ?

कुरो नबिगारिदिनु, सबै राम्रो–राम्रो भनिदिनु । मेरा कारणले कसैलाई समस्या नहोस् । बाबुलाई आशिर्वाद ।
– दिलनिशानी मगर