प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउँन प्रस्ताव दर्ता

प्रकाशित मिति : : मङ्लबार, चैत्र २७, २०७४

Bhaktapur District Map

भक्तपुर, २६ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुरलाई माग गर्दै आज प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।

एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउँने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभा सदस्य थापाले भक्तपुरलाई स्थायी राजधानी बनाउँदै ३ नम्बर प्रदेशका सबै जिल्लालाई पायक पर्ने र सहज हुने भएकाले प्रस्ताव दर्ता गरेको बताएका छन् ।

प्रस्तावमा सानोठिमी भक्तपुरका शिक्षा मन्त्रालय मातहतका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका भवनहरु, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्र लगायतका सुविधा सम्पन्न भवनहरु, सानोठिमीको कृषि विकास तालिम केन्द्रको भवनहरु, यहाँ रहेका २०० रोपनी भन्दा बढी खाली रहेको जग्गा रहेकाले यहाँ राजधानीको लागि उपयुक्त हुने तर्क राखिएको छ ।

बैशाखदेखि रिक्त हुने यहाँका कार्यालयहरुमा मन्त्रालय, मन्त्रधी क्वार्टर, मुख्य मन्त्रिको कार्यालय, सभामुख, उपसभामुखको कार्यालय, निवास, संसद भवनका लागि उपयुक्त हुने संरचनाहरु रहेको जनाईएको छ ।
सुरक्षाको पूर्ण प्रत्याभूति रहेको, आवश्यक अन्य पर्याप्त जग्गाहरु रहेको, भौतिक संरचनाका लागि सरकारले तत्काल खर्च गर्नु पर्ने आवश्यकता नरहने र प्रदेश न.. ३ को राजधानी भक्तपुर उपयुक्त भएको प्रतिवेदन समेत सरकारी टोलीले बुझाएको तर्क सहित प्रस्ताव गरिएको छ ।

यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका थिए ।