एक्याप कार्यालयमा ताला लगाईदिने चेतावनी

प्रकाशित मिति : : आइतवार, बैशाख २, २०७५

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरे गाउँपालिकालेनै ताला लगाउने चेतावनी आयोजनालाई दिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले स्थनीय सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो आएपछि गाउँपालिका अध्यक्ष युवराज कुवँरले सो चेतावनी दिएका हुन् । उनले जनताले संरक्षण गरेका सम्पत्ति प्रयोग गर्दा पनि अनेक बाधा झिकेर एक्यापले दुख दिने गरेको गुनासो गाँउपालिकामा आएको वताए ।
‘स्थानियले हाम्रै निम्ती हुर्काएको रुख, हामीले संरक्षण गरेको श्रोत साधन हामीले प्रयोग गर्न पाउँदैनौं भने त्यसको के काम भनि अध्यक्षसँग आक्रोस ब्यक्त गरेपछि अध्यक्ष कुँवरले पनि सो चेतावनी दिए ।
उनले भने ‘पर्यावरण नविग्रिने गरी प्राकृतिक श्रोत चलाउन पाउने हामीलाई संविधानले अधिकार दिएको छ, जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । अब एक्यापले बुझे हुन्छ जनताको काम हुर्काउने मात्रै होईन प्रयोग गर्ने पनि हो ।’
विरेठाँटीका स्थानीय टेकबहादुर गुरुङले आफ्नै जग्गाको काठ अर्को वडामा चिर्न लैजाँदा एक्यापले रोक्ने र जरिवाना तिराएको गुनासो गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सगुन गुरुङले भर्खरै न्यायिक समिति गठन गरेर काम थालिसकेको बताए ।