अन्तरघातीलाई पार्टीबाट निकाल्ने कांग्रेसका सभापति देउवाको अन्तिम तयारी

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका छन् ।निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए ।

प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र माओवादीबीच भएको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको उनले बताए ।

संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले चुनाव गराएको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘तर, जित्ने बेलामा प्रचण्ड उता मिलिदिए । दुई पार्टी मिलेको थाहा छैन ? कोही बोल्दैन । अहिलेसम्म सुन्दै सुनेनन् ।’

रामचन्द्र पौडेल समेत हारेको भन्दै उनले भने, अन्तरघातीहरुलाई माफी दिने कि कारबाही गर्ने ?जबसम्म अन्तरघातीलाई पार्टीबाट निकालिँदैन, यो पार्टी अगाडि बढ्दैन ।’

उनले अघि भने, ‘उहाँ भन्नुहुन्छ, मलाई हराएयो, कारबाही गर्न पनि डराउनुहुन्छ । कहाँ हुन्छ ? कांग्रेस सभापति देउवाले एमाले र माओवादीको एकतालाई चुनौतीको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।