एकता फाइनल गर्न सुकुटेबाट प्रचण्ड सिधै बालुवाटारमा

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

Bam-gathabandhan-oli-prachanda

काठमाडौं,वैशाख ३ । हिजो साँझ सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताबारे छलफल गर्न त्यहाँबाट बालुवाटार प्रस्थान गरिसकेका छन् ।

अध्यक्ष प्रचण्डसँगै रहेका माओवादी केन्द्रका नेता अग्नि सापकोटाले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा दिएको जानकारी अनुसार प्रचण्ड ओलीसँग निर्णायक वार्ता गर्न त्यहाँबाट प्रस्थान गरिसकेका छन् ।

सापकोटाको अनुसार प्रचण्डले एकताबारे चार वटा एजेण्डा लिएर त्यहाँबाट हिँडेका छन् । जस अनुसार सम्मानजनक एकता, कार्यकारी अधिकारसहितको अध्यक्ष, ओलोपालो प्रणालीमा प्रधानमन्त्री, दुई चार जना केन्द्रिय समिति तलमाथि भएपनि वडादेखि केन्द्रसम्म ५०५० र सुर्य चिन्हभित्र हँसिया हथौडा हाल्नैपर्ने रहेका छन् । त्यस्तै एकीकृत पार्टीको सैद्धान्तिक विचार जबज र २१ औं जनवादलाई महाधिवेशनबाट टुँग्याउने पनि प्रचण्डको अडान रहेको छ ।

एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतका जानकारी अनुसार प्रचण्डले आज बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । आजको बैठकमा प्रचण्डले एकताबारे फाईनल कुरा गर्ने मनशाय बनाएको नेता सापकोटाले जानकारी दिए ।