खुमलटारबाट खग्रंङ्ग भएर फर्किए माधव नेपाल !

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

Madhav-nepal-1-1

काठमाडौँ  । आइतबार बिहानै वाइसिएलका नेताहरुसँग माओवादी अध्यक्ष प्रचण्डले ‘म गम्भीर भएको छु’ भनिसकेका थिए, उनै गम्भीर प्रचण्डलाई पार्टी एकताका लागि फकाउन भन्दै माधव नेपाल खुमलटार पुगे ।

सम्भवतः माधव नेपालले यो कुराको चाल पाइसकेका छन् कि प्रचण्डको नजर केपी ओलीप्रतिमात्रै सशंकित भनेको छैन, उनी माधव नेपालको भूमिकासँग पनि तर्सिएका छन् । त्यसैले विश्वासको वातावरण ओली र प्रचण्डका वीचमा मात्र होइन, माधव नेपाल र प्रचण्डका वीचमा पनि धुमिल भएको छ ।

माओवादी स्रोतहरुका अनुसार ओलीले माधव नेपाललाई भावी अध्यक्ष बनाउने आश्वास दिएका छन् र जसलाई प्रचण्डले आफूमाथि सिंगै एमाले नेतृत्वले गर्न लागेको विश्वासघातका रुपमा लिएका छन् ।

प्रचण्डले माधव नेपाललाई भित्रैदेखि विश्वास नगरेको र मध्यस्थकर्ता भन्दा पनि केपी ओलीको दूतका रुपमा लिएपछि नेता नेपाल खंग्रङ्ग बनेर खुमलटारबाट फर्किएको स्रोतले बतायो ।

त्यसो त आइतबारको भेटमा वाइसीएलका नेताहरुले प्रचण्डलाई एकीकृत पार्टीबाट दुईवटा अध्यक्ष बन्न नहुने र प्रचण्ड नै कार्यकारी अधिकार सहितको अध्यक्ष बन्नुपर्ने प्रस्तावसमेत राखेका थिए ।
तर, प्रचण्डले दुई अध्यक्षमा सहमति जनाइसकियो भन्दै आफूलाई अस्थिर नेताको आरोप लाग्ने भएकाले अब दुई अध्यक्षकै प्रणालीमा जान आफू तयार भएको जवाफ दिएका थिए ।

माओवादी स्रोतले भन्यो( ‘सुकुटे पुगेर पनि अध्यक्ष प्रचण्डले भन्नुभएको छ कि पार्टी एकता नेपाली जनताको म्यान्डेट हो, हामीले एकता गर्नैपर्छ । तर, केपी ओलीजीको कार्यशैली सच्याइनुपर्छ र बराबरी एवं सम्मानजनक हैसियतमा एकता हुनुपर्छ ।’ -अनलाइन खबर बाट