एमाले–माओवादी एकतापछि निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

काठमाडौँ, ४ वैशाख । पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।
पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।

महासचिव पोखरेलले भन्नुभयो, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्काे संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।”

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिएका छन् ।