सगरमाथा आरोहण गर्ने महिलालाई पत्रकार महासंघद्वारा सफलताको शुभकामना सगै झण्डा हस्तान्तरण

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

काठमाडौँ । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना दिँदै महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ ।
महासंघमा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको सदस्यले सगरमाथा आरोहण गर्नु सिंगो महासंघले आरोहण गर्नु सरह हो भन्दै सफल आरोहणको शुभकामना दिनुभयो । उहाँले महिला पत्रकारको सगरमाथा आरोहणले महिलाको साहसलाई विश्वमै उजागर गर्ने धारणा राख्नु भयो ।
महसंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महिलाको सफल आरोहणले नेपाली पत्रकारलाई नै सगरमाथा आरोहणको आभास दिलाउने धारणा व्यक्त गर्नुभयो ।

आरोहण गर्ने पत्रकार महिलाको तर्फबाट बोल्दै पत्रकार देउराली चाम्लिङले मे महिनाको १५ देखि २९ भित्र सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
देउराली चाम्लिङ, कल्पना महर्जन , प्रियालक्ष्मी कार्की , रोजिता बुद्धचार्य र रोशा बस्नेत सगरमाथा आरोहणका क्रममा भोलि सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । आरोहीहरुले सगरमाथाको चुचुरोबाट नेपाल टेलिभिजनमा आरोहणका प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको बताएका छन् ।