माओवादी-एमाले एकता अब वैशाख अन्तिम साता

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

oli-prachanda

केही राजनीतिक विषय र नेताहरुको व्यवस्थापनजस्ता कामहरू बाँकी रहेकाले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुने भनिएको पार्टी एकता केही दिन पर सर्ने दुवै दलका नेताहरूले बताएका छन्।

मंगलवार बसेको पार्टी एकता संयोजन समितिको बैठकले वैशाख ९ गते हुने भनिएको एकता त्यो मितिमा नहुने निष्कर्ष निकाल्दै विवादित विषयहरू मिलाउने र एकताको नयाँ मिति तय गर्ने जिम्मेवारी दुई पार्टीका अध्यक्षलाई दिने निर्णय गरेको छ।

माओवादीले गरेको सशस्त्र संघर्षलाई कसरी सम्बोधन गर्ने अनि पार्टीमा हुने दुई जना अध्यक्षको कार्यक्षेत्र के हुने भन्नेजस्ता विषयहरू पनि मिलाउन बाँकी रहेको बताइएको छ।

पार्टी एकताका लागि राजनीतिक प्रतिवेदन र विधान तयार पार्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न मंगलवार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो।

कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ गते पार्टी एकता गर्ने गरी बोलाइएको उक्त बैठक प्रतिवेदनमा नमिलेका विषयलाई मिलाउन विफल भएको छ।

अब त्यो जिम्मेवारी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरिएको एमाले उपाध्यक्ष एवम् संयोजन समितिका सदस्य वामदेव गौतमले बताए।

उनले भने, “एकताका जति पनि बाँकी काम छन् त्यसमा एकताको मिति तय गर्नेदेखि निर्वाचन आयोगसम्म दर्ता गराउनेसम्मका सम्पूर्ण कामहरु दुई जना अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरियो।”

दुई अध्यक्षले सबै विषयहरु मिलाउँदा र एकताका लागि गर्नुपर्ने प्रक्रियाहरु पूरा गर्दा अब एकता वैशाख अन्तिम सातासम्ममा हुने पनि नेता गौतमले बताए।

राजनीतिक प्रतिवेदनमा धेरै विषय विवादित नरहेको नेताहरूको भनाइ छ। माओवादीले १० वर्षसम्म गरेको सशस्त्र संघर्षलाई कसरी सम्बोधन गर्ने, विधानमा चुनाव चिह्न के राख्ने भन्ने विषय मिल्न बाँकी रहेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ।

अनि प्रस्तावित २ सय ९९ जनाको केन्द्रीय समिति, त्यसको एकचौथाइ पोलिटब्युरो, र पोलिटब्युरोको एकचौथाइ स्थायी समिति सदस्य रहने गरी गरिएको प्रस्तावमा नेताहरूको समायोजन कसरी गर्ने भन्ने नै मुख्य मिलाउनुपर्ने विषय रहेको माओवादी केन्द्रका नेता एवम् एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, “केन्द्रीय समितिको निर्माण कसरी गर्ने भन्ने टुंगो लगाउन बाँकी छ। प्रमुख नेताको स्थान त टुंगो लाग्यो, केन्द्रीय समिति कति जनाको भन्ने पनि भयो तर त्यो संरचनाभित्र नेताहरूलाई कसरी राख्ने भन्ने बारेमा अझै छलफल बाँकी छ।”