खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेटमा भण्डारा वारियर्सको विजयी सुरुवात

प्रकाशित मिति : : बिहिबार, बैशाख ६, २०७५

चितवन । पूर्वी चितवनको खैरहनीमा आज (बुधबार)देखी सुरु भएको जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेटमा भण्डारा वारियर्सले विजयी सुरुवात गरेको छ ।

खैरहनीको गौचरन खेल मैदानमा भएको समुद्घाटन खेलमा भण्डाराले बहेरा स्पोर्टस् क्लवलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर बहेराले फिल्डिङ राजेपछि पहिले व्याटिङमा उत्रिएको भण्डारा वारियर्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । भण्डाराका लागि आर्य महतोले ३४, पवन थापाले ३२ र सशिल थापा मगरले नटआउट २० रन बनाए । बहेराका आशिष सेढाईले ३ विकेट लिए१४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको बहेरा १४ ओभरमा मात्रै ४५ रन बनाएर अलआउट भयो ।

भण्डाराका ध्रुव खत्रीले ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) खैरहनी नगरकमिटि र रत्ननगर नगरकमिटिको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समुद्घाटन गर्नुभएको थियो । समुद्घाटन कार्यक्रम वाईसिएल खैरहनीका अध्यक्ष विकास श्रेष्ठ र रत्ननगरका अध्यक्ष सिजन बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।