ओली–प्रचण्ड वार्ता विना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

प्रकाशित मिति : : शुक्रबार, बैशाख ७, २०७५

Bam-gathabandhan-oli-prachanda

काठमाडौं । पार्टी एकता प्रक्रियामा परेका गाँठो फुकाउन शुक्रबार बसेको एमाले–माओवादी केन्द्रका अध्यक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

पार्टी एकताका लागि केही विषयमा विवाद भएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार २ घण्टा छलफल भएको थियो । तर सहमति आज पनि जुटेन ।

खासगरी गत मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रतिवेदनमा देखिएका विवादित विषय टुंग्याउने अधिकार दुई पार्टीका अध्यक्षलाई दिएको थियो। दुई अध्यक्षले विवादित विषयलाई टुंग्याएर आगामी संयोजन समितिको बैठकमा पेश गर्ने निर्णय भएको थियो। सोही अनुरुप हिजो बिहीवार पनि दुई अध्यक्ष बालुवाटारमा चार घण्टा गोप्य बैठकमा बसेका थिए।

यद्यपि, दुई अध्यक्षले यसपटक पनि सहमति जुटाउन सकेनन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार दुई अध्यक्ष भोलि पुनः छलफलमा बस्नेछन् ।