राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ जिम्मेवारीमुक्त

प्रकाशित मिति : : शुक्रबार, बैशाख ७, २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्वेवारीबाट मुक्त गरेका छन्। श्रेष्ठले सम्हाल्दै आएको सो विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन्।

डेपुटी गभर्नर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको प्रलोभनमा परी सञ्चालक तथा प्रमुख कार्यकारी निर्देशकको कार्याकाललाई थप गर्न मद्दत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यस्तो कदम चालिएको हो।

सो विभागले बैंक तथा वित्तीय कम्पनीमा कार्यरत सचालक समिति तथा कार्यकारी अधिकृतको कार्यकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय गर्छ। अख्तियारमा परेको उजुरीमा नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थप गर्नमा उनले मिलेमतो गरेको आरोप लगाइएको छ।

कैलाश विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप डेपुटी गभर्नर श्रेष्ठमाछि लागेको छ।