“अझै केही दिन वर्षा हुन सक्छ” : मौसमविद् वरुण पौडेल

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

-poudel-

१७ बैशाख, काठमाडौं । गत हिउँदमा खासै वर्षा भएन । माघमा पानी नपर्दा हिउँदे बालीमा केही असर गर्यो । तर, अहिले पानी खासै नपर्ने तथा परेपनि निकै कम पर्ने मौसम वसन्त ऋतुमा भने निरन्तर पानी परिरहेको छ । घुमघामका लागि निकै उत्तम मानिने यो मौसम असार–साउनको हिलाम्ये मौसमजस्तो बनेको छ । चैतदेखि नै यस्तो मौसम निरन्तर छ । उत्तिखेरै धुम्म हुने, एकैछिनमा घाम लाग्ने, फेरि बादल देखिने र पानी पर्ने । काठमाडौंसहित देशका धेरै ठाउँको मौसम यस्तै छ । यो केको संकेत हो ? प्रि मनसुन सक्रिय हुनुको अर्थ असार–साउनमा कम पानी पर्ने संकेत हो ? मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार –अहिलेको बदली हेर्दा असारजस्तो लाग्नु स्वभाविक हो, हामीलाई पनि त्यस्तै लाग्छ । तर, यो मनसुन होइन, प्रिमनसुन सक्रिय भएको हो र लगातार झरी नपर्ने, तर बेलाबेला बदली भएर पानी पर्ने क्रम अझै केही दिन रहन्छ ।