वजन धेरै भएका महिलालाई स्तन क्यान्सरको खतरा, लगातार परीक्षण गर्न विज्ञको सुझाव

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

breasts cancer

काठमाडौं- बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।

अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ ।
तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३/३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।

खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३/३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।

द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो ।
उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।