मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्,मोदीको स्वागत राष्ट्रिय स्वाभिमानका विरुद्ध – मसाल

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

mashal - akhabardainik

नेपाल कम्युनिष्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आपत्ति जनाएको छ।

पार्टीले सोमबार विज्ञप्ति जारी गरी मोदीलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध भएको बताएको छ।

‘नेपालको संविधानको निर्माणको बेलामा त्यसको निर्माण र जारी हुन नदिन मोदी सरकारले धेरै नै दबाब दिएको थियो। संविधानलाई खारेज गराउन वा त्यसमा राष्ट्रघाती प्रकारका संशोधनहरू गराउन उनले नेपालका विरुद्ध नाकाबन्दी लगाउने काम गरेका थिए,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरूलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेका थिए ।

नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए । नेपालाई पूरै नै आफ्नो नियन्त्रणमा राख्नका लागि भारतीय शासक वर्गहरूले चीनसितको सम्बन्ध विस्तारका सबै प्रयत्नहरूलाई रोक्नका लागि पूरै प्रयत्न गर्दै आएको छ। नेपालको अन्य देशहरूसितको व्यापारलाई नियन्त्रित गर्न र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न त्यसले अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन गरेको छैन।’

‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसकारण उनको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुन्छ’ पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्तिमार्फत् बताएका छन्।