अज्ञात समूहद्वारा हजार भन्दा बढी केराको बोट काटेर नष्ट

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

चितवन, १८ वैशाख । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले गएराति केरा बगान फँडानी गरेको छ ।

कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा वढी केराका बोट रातको समयमा फाँडिएको थियो ।

केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए । उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ । फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए ।

स्थानीय पीडित किसान गोपी लामिछानेले दुई कट्ठा १० धुरमा रहेका सबै ३०० बोट केरा फँडानी भएको छ भन्दै सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ कट्ठा क्षेत्रफलमा लगाइएको केरा फाँडिएको बताए । उनले भने, “यस क्षेत्रका १२ कृषकको केरा फाँडिएको देखिएको छ । अरुको के छ हेर्न बाँकी छ ।” वर्षभरको मेहनत खेर गएको लामिछानेले चिन्ता व्यक्त गरे । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ ।

केही दिनअघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्रायः घरमा केरा खेती गरिँदै आएका छन् ।

बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले घटना रिसइबीकै कारण भएको देखिएकाले अनुसन्धान तीव्र पारिएको बताउनुभयो । उनले आफूले केरा फाँडिएको क्षेत्र हेरेको भन्दै जसरी पनि दोषी पत्ता लगाएरै छाड्ने बताएयो । जिल्लामा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । छ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् ।