प्रधानमन्त्रीको आश्वासन छ,सरकारले मेरो भूमिका माग गरेमा गृहमन्त्री बन्न सक्छु : सिलवाल

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

nawraz silwal -akhabardainik

नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल यतिवेला प्रतिनिधी सभा सदस्य छन्।प्रतिष्पर्धा मध्ये आइजीपी हुनको लागी आफू सबैभन्दा योग्य र पहिलो नम्बरमा रहेको तर तत्कालीन सरकारले विभिन्न प्रपन्च रचि आफूलाई आइजीपी हुनबाट रोकेको पछि आफूलाई फसाउन सिंगो राज्य संयन्त्र परिचालन हुँदा आफू एक्लैले लडेको सिलवालले कान्तिपुर टेलिभिजनको कार्यक्रम फाएरसाइडमा कुराकानी गर्दै बताए।

सिलवालले आफ्नो विरुद्ध राज्य निर्मम भएर लाग्दा एमालेले आफ्नो पक्षमा साथ दिएकाले एमाले पार्टीमा लागेको र त्यसअघि आफ्नो कुनै राजनीतिक पार्टीसँग सम्बन्ध नरहेको जिकिर गरे।

सिलवाल केन्द्रीय अनुसन्धान विभाग सिआईबीको प्रमुख हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन तस्करीमा संलग्न भएको पाइएपछि नेपाल प्रहरीमा आफू सँगसँगै जस्तो भर्ना भएका आफ्नै साथी एसएसपी श्याम खत्रीलाई पक्रिएका थिए।

यतिबेला हराइरहेको अर्को ३३ किलो सुन काण्डमा नेपाल प्रहरीका हाकिमहरु समेत मुछिएका छन् र यसले देशमा हलचल जस्तै मच्चाइरहेको छ। सुन तस्करीमा संलग्न प्रहरीका अधिकारीहरु हिरासातमा रहेका छन्।पूर्व डिआइजी समेत रहेका सांसद सिलवाल सुन तस्करीको बारेमा यसो भन्छन् -‘एयरपोर्टबाट ठूलो मात्रामा हुने सुन तस्करी सुरक्षाकर्मीको संलग्नता नभई सम्भव छैन।दुबईबाट ल्याइएको तस्करीको सुन काठमाडौं आएर भारततर्फ जान्छ। तस्करीको सुन एक पटकमा तेत्तीस-चौतीस किलो मात्र ल्याउन मिल्छ।’

सुन तस्करमाथि कडाई गरेकाले आफूलाई आइजीपी हुनबाट रोक्न तस्कर समेत लागेको सिलवालको दावी छ। भारतमा नोटबन्दी शुरु भएपछि भ्रष्टचारीले घुस पैसामा होइन,सुनमा लिन थाले।त्यसपछि नेपालको बिभिन्न बाटो हुदै तस्करी गरेर भारत सुन जान थालेको अनुसन्धान आफ्नो पालामा भएको सिलवालको खुलाए।

सिआइबी प्रमुख हुँदा राष्ट्र बैंकका अधिकारीले सुन तस्करीले देशमा ठूलो आर्थिक संकट निम्त्याउने भयो यसमा अनुसन्धान र कारवाही गर्न आफूलाई अनुरोध गरेका र त्यसको लागी दुबईसम्म गएको सिलवालले बताए।

सुन तस्करीमा नेपाल प्रहरी मात्र होइन,सरकारका अन्य निकायहरु पनि मिल्ने गरेको तर अहिलेसम्म राजनीतिक नेतृत्वको संलग्नता नभएको सिलवालको दावी छ।

नयाँ सरकार आएपछि केहि हदसम्म तस्करी नियन्त्रण भएको र केहि अगाडि गृहमन्त्री रामबहादुर थापाले टनका-टन सुन तस्करी हुन्छ भनेर सार्वजानिक रुपमा दिएका अभिव्यक्ति साँचो भएको सिलवालले बताए।

कुनै समय सार्क राष्ट्रमै उत्कृष्ट भनेर चिनिएको नेपाल प्रहरी यतिबेला राजनीतिक कारणले अस्तव्यस्त भएको सिलवालले गुनासो गरे।

चुनावअघि सिलवाल गृहमन्त्री बन्ने हल्ला चलेको थियो।तर उनी गृहमन्त्री बन्न सकेनन्। यसमा प्रस्ट पार्दै सिलवालले भने-‘परिस्थिति अनुसार सरकारले मेरो भूमिका माग गरेमा म गृहमन्त्री बन्न सक्छु।मेरो अनुभव अनुसार प्रधानमन्त्रीले मलाई भूमिका दिनुहुनेछ र प्रधानमन्त्री ओलीले आवश्यकता पर्दा आफूसँग सरसल्लाह लिने गरेको सिलवालले बताए।’

हिजो जो मानिसहरुले मलाई आइजीपी बन्न रोक्न खोजे तिनीहरु सबैलाई म धन्यवाद दिन चाहान्छु। मलाई उनीहरुसँग कुनै गुनासो र रिसिइवी छैन।

हेर्नुहोस् सांसद नवराज सिलवालसँगको कुराकानी