कृषिको विकासका लागि वैज्ञानिक रआधुनिक प्रणालीको विकास हुन जरुरी : राज्यमन्त्री बाँस्कोटा

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

बनेपा, । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत छ ।”

राज्यमन्त्री बाँस्कोटाले कृषि बजारको व्यवस्थापन, लगानी र सम्मान अहिले राज्यले लिन खोजेको नीति हो भन्दै जसले कृषिको काम गर्छ उसैले जमिनमा खेती गर्न पाउनुपर्छ बताए ।

“खोलेको छ फलाम कारखाना, जमिन ओगटेको छ सयौँ रोपनी, अनि कसरी हुन्छ उत्पादन ?” भनी प्रश्न गर्दै उनले राज्यको कृषि नीति समयसापेक्ष हुन नसक्दा उत्पादन घट्दो क्रममा रहेको बताए ।

राज्यमन्त्री बाँस्कोटाले टुक्रे प्रणाली अपनाएकै कारण कृषि क्षेत्र समापन हुन लागेको चर्चा गर्दै कृषकलाई निर्वाहमुखी नभई व्यवसायमुखी बन्न सुझाव दिए।

काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि बनेपा, (नयाँ तरकारी बजार) समृद्ध काभ्रे कृषि सहकारी संस्था लि र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा चार दिनसम्म सञ्चालित ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला’ आज समापन भएको हो ।

सो अवसरमा तरकारीजन्य, दूधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषिसम्बन्धी नयाँ प्रविधिको प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्कृष्ट कृषकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।