अस्पताल गएर आफ्ना साथी डा.उपेन्द्र देवकोटालाई भेटेपछि बाबुरामले भावुक हुँदै यसरी लेखे

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

काठमाडाै । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना सहपाठि वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटालाई बाँसबारीस्थित न्युरो अस्पतालमा पुगेर भेट गर्दै स्वास्थय लाभको कामना गरेका छन्।बाबुराम भट्टराई र उपेन्द्र देवकोटा कक्षा ५ देखि आइएस्सीसम्म सँग पढेका हुन्।

देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको हो । उनको बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई  नेपाल ल्याइएको हो ।

न्यूरो अस्पतालमा उपचारपत डा.देवकोटालाई भेटेपछि भट्टराईले आगन्तुक पुस्तिकामा पुराना दिन सम्झिदै यसरी लेखे- मेरा बालसखा तथा अनन्य मित्र र नेपाललाई अन्तराष्ट्रिय प्रतिष्ठा दिलाउने अग्रणी न्यूरो सर्जन डा. उपेन्द्र देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै सबै आफन्तजनमा आशावादी रहन र धैर्यधारण गर्न आग्रह गर्दछु। उहाँ आफैं एक अब्बल वैज्ञानिक र चिकित्सक हुनाले उहाँ आफ्नो स्वास्थ्यस्थिति बारे जानकार हुनुहुन्छ र आफ्नो जीवनको भविष्यबारे आकलन गरिसकेको उहाँ सँगको भेटमा अनुभूत भयो।

तर, म उहाँको अमरज्योति हाइस्कुल,लुइँटेल,गोरखामा पाँचदेखि १० कक्षासम्म र अमृत साइन्स कलेजमा आइएससी सहित सात बर्ष एउटै कक्षामा अध्ययन गरेको र उहाँको दृढ इच्छाशक्ति तथा विलक्षण प्रतिभा नजिकबाट देखेको नाताले यो असाध्य रोगलाई उहाँले जित्न सक्नुहुन्छ भन्ने अझैं विश्वास गर्दछु।

संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण गर्यौ,एक अर्काप्रति अन्तरह्रदयदेखि सम्मान व्यक्त गर्यौं।सामान्य मान्छेको जीवनमा देश र जनता/समाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्यौ र एकअर्काप्रतिको हाम्रो सोच र सम्बन्धबारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रकै रुपमा संसारबाट बिदा हुने प्रण गर्यौं। मलाई मेरा मेधावी मित्र डा. देवकोटासँगको स्वस्थ प्रतिष्पर्धाले यहाँसम्म पुर्याएको मैले स्वीकार गरेँ र उहाँले पनि स्वीकार गर्नुभयो। म मेरा अनन्य मित्र देवकोटाप्रति सधैं गर्व गर्दछु,गरिरहनेछु।
बाबुराम भट्टराई