रेशममार्गअन्तर्गत बुद्ध र मञ्जुश्रीका चित्रकला

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

काठमाडौँ, २१ वैशाख । नेपाल कला परिषद् बबरमहलमा आज चिनियाँ कालकार सी नेङ दाओद्वारा सिर्जित १०० भन्दा बढी चित्रकला प्रदर्शनी गरिएको छ ।

पच्चीस सय ६२आँै बुद्धजयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा खास गरी गौतमबुद्ध र मञ्जुश्रीका अनेक रुपसँग सम्बन्धित चित्रकला तथा चिनियाँ संस्कृति बढी समेटिएको थियो । नेपाल–चीन रेशममार्ग बौद्धदर्शन सांस्कृतिक आदानप्रदान कार्यक्रम २०१८ अन्तर्गत आयोजित प्रदर्शनीमा बौद्ध दर्शनका अतिरिक्त धर्मसँग सम्बन्धित चित्रकला पनि समाविष्ट थिए ।

प्रदर्शनीको शुभारम्भ गर्दै पूर्वमन्त्री केशवप्रसाद बडालले कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रमबाट नेपाल चीन सम्बन्धलाई जनस्तरसम्म सुदृढ तुल्याउन योगदान मिल्ने विश्वास व्यक्त गरे ।

पूर्वसांसद् मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले चीन नेपालको निकै पुरानो अभिन्न मित्रका रुपमा रहिआएको बताए । नेकपा (माले)का महासचिव सिपी मैनालीले कला र संस्कृतिको आदानप्रदान नै नेपाल र चीन सम्बन्धको महत्वपूर्ण आधार हो भने । चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले संस्कृति र कला नै सम्बन्ध विस्तारको आधार हुने धारणा व्यक्त गरे।

बुद्धिष्ट एसोसिएसन अफ चाइनाका कार्यकारी सदस्य एवं कलाकार सीले नेपाली थाङ्कासँग मिल्दाजुल्दा भए पनि सामान्य ढंगबाट सिर्जना गरिएको चित्रकला नेपालमा प्रदर्शनी गर्ने अवसर मिलेकामा खुशी व्यक्त गरे । सो अवसरमा सहभागी अन्य वक्ताले गौतमबुद्ध, मञ्जुश्री, भृकुटी र अरनिकोले नेपाल–चीन सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै रेशममार्ग नेपाल र चीनबीच सम्बन्धलाई थप सुदृढ तुल्याउने सूत्र भएको धारणा व्यक्त गरे । चीनले पछिल्लो समय सडक, रेल र अप्टिकल फाइबरका माध्यमबाट छिमेकी हुँदै विश्वसमुदायसँग सम्बन्ध गाँस्दै अघि बढ्न चाहेकाले उसको विकास र समृद्धिको अभियानलाई साथ दिन आवश्यक रहेकामा वक्ताले जोड दिए ।