साझा समस्याको समाधान एकीकृत प्रयासबाट सम्भव : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिका कारण आउने समस्याको समाधान एकीकृत प्रयासबाट मात्र सम्भव हुने बताउनु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आज आयोजित प्रदेश स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले विपद्लाई सामना गर्न साझा संकल्प आवश्यक हुने बताउनुभयो ।

भूकम्प गएको तीन वर्ष पुगिसग्दा पनि पीडितले उचित राहत पाउन नसकेको, आकाशलाई छानो बनाउन बाध्य भएको भन्दै उहाँले प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरेर पुनःनिर्माणमा जुट्नुपर्ने धारणा राख्नुभयो ।

कानूनी जटिलताका नाममा पुनःनिर्माणका काम रोकिन नहुनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले सेवा लिने प्रक्रिया झन्झटिलो हुने गरेका गुनासा हट्ने गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले यस प्रदेशका भूकम्प अति प्रभावित १४ जिल्लामध्ये गोरखा परेको बताउँदै कम प्रभावित १८ जिल्लामध्ये आठ जिल्ला यस प्रदेशमा पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रदेशमा भूकम्प पीडित भूमिहीन लाभग्राहीको संख्या संस्थागत एवम् गुठी ९३२ छन् भने सरकारी एवम् सार्वजनिक एक हजार १६८ रहेका छन् । जोखिममा रहेका लाभग्राहीको संख्या तीन हजार ४९७ रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै भूकम्पबाट एक हजार ८११ विद्यालय प्रभावित भएको जानकारी दिँदै उहाँले एक हजार ३१० विद्यालयको भौतिक संरचना तयार भई सञ्चालनमा आएको बताउनुभयो । तथ्याङ्कअनुसार यस प्रदेशमा प्राविधिक जनशक्ति उत्पादनका लागि हालसम्म ५१ हजारले तालीम प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा आर्थिक महिला तथा योजनामन्त्री किरण गुरुङले प्राधिकरणका कामलाई प्रभावकारी बनाएर एक वर्ष भित्रमा प्रदेश नं ४ को पुनःनिर्माणका काम सम्पन्न गरेर पीडितलाई राहत दिन सरकार रहेको अनुभूति दिलाउनुपर्ने बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भूकम्पबाट पीडित भूमिहीनलाई प्रत्येक पालिकामा भित्र बसोबासको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसका लागि प्रादेशिक सरकारका तर्पmबाट सक्दो सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विकट बस्तीमा ढुंगा र माटोले बनेका सम्पूर्ण घरलाई पुनःनिर्माण लाभग्राहीमा राखेर राहत प्रदान गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट निजी आवासतर्पm कूल सात लाख ६७ हजार ७०५ मध्ये एक लाख ४३ हजार ८४९ घर निर्माण भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवम् प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले दुई वर्षभित्र सम्पूर्ण पीडितलाई राहत प्रदान गर्ने गरी काम गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसहित तीन वटै सरकार जुट्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पछिको पुनःनिर्माणमा हालसम्म भए/गरेका कार्य र आगामी दिनमा पुनर्निर्माणलाई थप तीव्रता दिनका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरु, सञ्चारकर्मी, प्राधिकरणका प्राविधिकलगायत करीब ९० जनाको सहभागिता रहेको थियो ।