नर्बदा खरेलले कति राखेकी छन् तस्करीका सुन ?

प्रकाशित मिति : : शनिबार, बैशाख २२, २०७५

सांकेतिक तस्बिर
काठमाडौं । गृह मन्त्रालयको छानविन विशेष टोलीले तस्करीको साढे ३३ किलो सुन र सनम हत्या प्रकरणमा तयार पारेको १ सय ५३ पृष्ठ लामो विवरण र अभियुक्तको बयानमा धेरै विषय खुलेका छन् ।

तीन वर्षमा ४ सय २१ पटक विदेशबाट नेपालमा सुन तस्करी गर्ने गोरे भनिने चुडामणी उप्रेतीपत्नी निरू भनिने नर्बदा खरेलको पनि साथ र सहयोग अभियुक्तहरूको बयान र घटना विवरणमा पीडितले उल्लेख गरेको तथ्यले पुष्टि गर्दै गएको छ ।

हत्या गरिएका शाक्यपत्नी सुनिल लावतीले दिएको विवरणका क्रममा सनमको संगत गोरेसँग हुँदा पारिवारिक कुराकानी पनि चलिरहन्थ्यो । केही समयअघि हतासमा घर आएका पती एकाएक हराए पछि खोजीका लागि लावतीले गोरेपत्नी निरूलाई पटक–पटक सोधेकी थिइन् ।

१९ फागुनमा लावतीलाई गोरेसँग सम्पर्क नभएको र भएको खण्डमा आफुलाई फोन नम्बर दिनु भनेकी निरूले त्यसको केही दिन पछि घटना मिलाउनका लागि सई बालकृष्ण सञ्जेलसँग काठमाडौंको सिनामंगलमा भएको बाजेको सेकुवामा भेट गरेको बयानका क्रममा नै खुलेको छ ।

घटनाको विवरण र अभियुक्तहरूको बयानका आधारमा गोरेले हरेक घटनाका सम्बन्धमा पत्नी निरूलाई जानकारी दिएको आशंका गर्ने ठाउँ छ ।

अनुसन्धान टोलीसँगको बयानका क्रममा सई सञ्जेलले गोरेपत्नी निरूसँग भेट गरेको खुलासा गरेका छन् । शाक्यको शव मोरङ प्रहरीलाई बुझाएको भोलीपल्ट सञ्जेल काठमाडौं आएर अपराध महाशाखाका एकजना अर्का सई र प्रहरीको केन्द्रीय अनुसन्धा व्युरो (सीआइबी)का डीएसपी अंगुर जिसीसँग बाजेको सेकुवामा गोरेपत्नी निरूसँग भेट भएको उनले खुलाएका छन् ।

‘गोरे डराएका कारण भेट्न नआएको हो । डीएसपी प्रतिज केसीले गाली गरेका कारण ऊ डराएको छ ।’, बयानमा गोरेपत्नीलाई उदृत गर्दै सञ्जेलले भनेका छन् । निरूलाई पछि सम्पर्क गर्दा गोरेसँग कुराकानी नभएको बताएपछि सम्पर्क गर्न छाडेको सञ्जेलले उल्लेख गरेका छन् ।

निरूले गोरेसँग सम्पर्क हुन नसकेको विषय दुई दिन अघिमात्र शाक्यपत्नी लावतीलाई भनेकी थिइन् । सो बेला ‘उसँग वाक्क भइसकें अब डिभोर्स गर्छु’ भन्ने निरूले प्रहरीलाई घटनाको दिन डीएसपी केसीले थर्काएका कारण डराएको भन्ने बताउनुले निरन्तर घटनामा निरू जानकार रहेको प्रष्ट पारेको छ ।

प्रहरीहरूसँगको कुराकानीका विषयमा गोरेलाई जानकारी गराएर लावतीलाई भनेकै शैलीमा गोरेसँग सम्पर्क हुन नसकेको निरूले प्रहरीलाई बताएका कारण उनीमाथि शंका गर्ने आधार पर्याप्त भेटिन्छ ।

किन खोजिएन आम्दानीको स्रोत ?
भारतीय सेनाका एउटा सामान्य भगौडाले मोरङको उर्लाबारीको घरजग्गा समेत हेरचाह गर्न नसक्दा एकाएक काठमाडौंमा घर किन्ने हैसियत कसरी बन्यो भन्ने खोजी परिवारबाट नभएको देखिन्छ ।

खासगरी पत्नी निरूले त्यो स्रोत खोज्नुको साटो गोरेको आम्दानी र तीन वर्षभित्र गरेको तस्करीमा लेप लगाउने काम गरिएका कारणले सम्पत्ती शुद्धिकरणको मुद्दा लाग्ने आधारहरू पर्याप्त देखिएको छ ।

३३ किलो सुन तस्करी र सनम हत्याका विषयमा पनि निरू जानकार रहेको विवरण र घटनाक्रमले संकेत गरेकै छ । ४ सय २१ पटक गरिएका तस्करीका सुनमा निरूले कति राखेकी होलिन् ? अनुसन्धानको दायरा फराकिलो बनाउँदै सुरक्षा निकायले खोजी गरिरहेको स्रोतले जनाएको छ ।-दैनिक नेपालबाट