ओली र प्रचण्डको आलोपालो नेतृत्वमा सरकार चल्ने, आजै दिउँसो ४ बजे पार्टी एकता घोषणा : युवराज ज्ञवाली

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

yaubraj gyawali/akhabardainik

जेठ ३, काठमाण्डौ । लामो समयको कसरतपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार पार्टी एकताका लागि कार्यसूची तय गरेका छन् ।

बिहीबार मदन भण्डारी स्मृति दिवस पारेर पार्टी एकताको घोषणा गर्ने र बिहीबार नै नयाँ एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले दुई पार्टीबीचको एकताका लागि ओली र प्रचण्डल आलोपालो बैठकको अध्यक्ष गर्ने सहमति भएको बताए ।

महाधिवेशनपछि को अध्यक्ष बन्ने भन्ने कुरामा अहिले कुनै सहमति नभएको उनले बताए ।

“महाधिवेशनपछि को अध्यक्ष बन्ने चर्चा अहिले नगर्ने सहमति भएको छ । महाधिवेशनअघि के के गर्ने भन्ने कुरामा सहमति भएको छ ।” उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ ।

जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । माओवादीले ५०–५० को माग गरेपछि विवाद पनि भएको थियो । तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो भने तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना रहने ज्ञवालीले जानकारी दिए ।

आज दिउँसो ४ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा गरिने ज्ञवालीले जानकारी दिए ।