युवा अभियानको आरोप– ओली सरकार जनतालाई ज्युँदै मार्दैछ

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

oli-prachand

काठमाडौं । सरकारले जनजीविका र राष्ट्रिय स्वाधिनताको विषयलाई नजरअन्दाज गरेको भन्दै राष्ट्रिय युवा अभियान विशेष भेला, आयोजक समितिले आपत्ति जनाएको छ ।

अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै पटक–पटकको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवन कष्टकर बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ । उसले मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

 

अभियानले रेलमार्ग निर्माणको सरकारी वाचालाई बकमफुसे र जनता झुक्याउने खेलको संज्ञा दिएको छ । बकमफुसे कुरा गरेर ज्यूँदै जनता मार्ने काम सरकारले गरेको युवा अभियानको टिप्पणी छ ।

‘हाम्रो अनुरोधलाई सरकारले बेवास्ता गर्छ भने हामी जस्तो सुकै आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुनेछौं’, विज्ञप्तिमा भनिएको छ, ‘युवाहरुको आन्दोलन नेपाली जनताले राहत नपाउन्जेल साथै राष्ट्रघाती कदम अन्त नहुँदासम्म रोकिने छैन ।’

अभियानले भूकम्पपछिको पुनर्निर्माण र अरुण तेस्रो जलविद्युत्त आयोजनाबारे पनि असन्तुष्टि जनाएको छ । महाकालीबाट शुरु भएको नदी बेच्ने श्रृंखला अरुणसम्म आइपुगेको उसको विश्लेषण छ ।