बलिदानले बनेको देशः उपन्यासको अवलोकन

प्रकाशित मिति : : बुधबार, भदौ २३, २०७२

  • नवराज कट्टेल

१. विषय प्रवेश
चिरञ्जीवी वाग्ले (२००३) को दोस्रो उपन्यास बलिदानले बनेको देश (२०७२)राष्ट्रिय चिन्तन, एकता, अखण्डता क्षेत्रीय, जातीय, धार्मिक र सांस्कृतिक सद्भावलाई अगाडि बढाउने लक्ष्य लिएको महत्त्वपूर्ण उपन्यास हो । यिनको पहिलो उपन्यास ‘बन्धनशालामा खीर’(२०७०) हो । यसअघि उनले केही कविता र राजनीतिक, ऐतिहासिक, साहित्यिक अनेक विषयमा समेत कलम चलाएको पाइन्छ । विनयशील, वग्मी र वाग्वैदग्ध्यका धनी वाग्लेले नेपाली एम.ए, ज्योतिषाचार्य र बी.एलसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् भने आम्नाय र आन्वीक्षीकी विद्यामा समेत उनको अभिरुचि रहेको देखिन्छ ।

पौरस्त्य सारस्वत वाङ्मयमा समेत अवगाहन गर्न अभिरुचि राख्ने वाग्ले प्राच्यविद्या र अर्वाचीन विद्याको समेत गवेषण र चिन्तनमा सन्नद्ध देखिन्छन् । राष्ट्रिय एकता र अस्मिता, सामाजिक सद्भाव र अस्तिता मानवीय प्रेम र उदात्त विचारको प्रतिपादन र विस्तारमा विचरण गर्न चाहने वाग्ले छात्रजीवनदेखि नै नेपालको प्रजातान्त्रिक आल्दोलनमा सक्रिय र समर्पित रहेको पाइन्छ ।२०४६।०४७ सालको आन्दोलनपछि लगातार ३ पटकसम्म गोरखाबाट संसद्मा निर्वाचित भएका वाग्लेले विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत समालेको देखिन्छ । ०१७ सालपछि प्रजातन्त्रको पुनःस्थापनाको शान्तिपूर्ण आन्दोलनमा ६ वर्ष जतिको कारावास जीवनमा उनले खासै कलम चलाएको नदेखिए पनि राजनीतिक परिवर्तनपछिको कारावासको समयलाई उनलै पूरै अध्ययन र लेखनमा सदुपयोग गरेको प्रतीत हुन्छ । त्यसैको परिणाम नै ‘बन्धनशालाको खीर’नेपाली साहित्यप्रेमीहरूका बिचमा प्राप्त भएको थियो । बन्धनशालामा खीरले २०४५ सालदेखिको नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण पाटोलाई औपन्यासिक रूपान्तरणका साथ उजागर गरेको छ भने प्रस्तुत उपन्यासले नेपाल एकीकरणको आवश्यकता, औचित्य र अभियानलाई औपन्यासिक संरचनामा चित्रण र वर्णन गरेको छ । बन्धनशालामा खीरमा सामान्य ग्रामीण पुरुषलार्ई नायक बनाइएको छ भने प्रस्तुत उपन्यासमा नेपाल एकीकरणका अग्रदूत, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नायक बनाइएको छ ।

२. औपन्यासिक प्रवृत्ति
नेपाली साहित्यमा चिरञ्जीवी वाग्ले ऐतिहासिक उपन्यासकारका रूपमा चिनिएका छन् । केही कविता र प्रशस्तै मात्रामा निबन्ध एवं राजीतिक आलेख लेखिरहेका वाग्ले पछिल्लो कालखण्डमा उपन्यासकारको रूपमा स्थापित हुन पुग्दछन्, उनले आफ्नो पछिल्लो जेलजीवनलाई अध्ययन, मनन, लेखन र योगाभ्यासमा समेत लगाएको पाइन्छ । पहिलो उपन्यास लेखेपछि उनमा लेखनप्रतिको भोक, श्रद्धा, प्रतिबद्धता, अभ्यास र स्वाध्यायनमा अभिरुचि बढ्ददै भएको पाइन्छ । जसको परिणाम प्रस्तुत उपन्यास रचना हुन सकेको छ । उनी नेता भएकाले त्यसको प्रभाव उपन्यासमा पाइन्छ । नेता आशावादी हुन्छ, लक्ष्यमा पुग्न प्रतिबद्ध हुन्छ, गतिशील हुन्छ, वाग्मी हुन्छ, व्यावहारिक र तर्कशील पनि हुन्छ साथै आदर्शवादी पनि हुन्छ ।उनको राजनीतिक छविको प्रभाव हामी उपन्यासमा पनि पाउन सक्छौं । उनका दुवै उपन्यास राजनीतिक क्षेत्रकै घटना परिघटनामा परिभ्रमित छन् । दुवै उपन्यासले नेपालको राजनीतिक क्षेत्रका कतिपय आवृत्त र अनुद्घाटित तथ्यलाई साहित्यिक रूपान्तरण गरेको पाइन्छ । उनी मानवप्रेमी, राष्ट्रप्रेमी र जातिप्रेमी, हत्या, हिंसा र आतङ्कका विरोधी लेखकका रूपमा चिनिन्छन् ।अखण्ड र अविभाज्य राष्ट्रका पक्षमा उनले कलम चलाएका छन्, जातीय एकता, सामाजिक सद्भाव र सहिष्णु नेपाली संस्कृति र सभ्यताको पक्षमा कलम चलाएका छन् । विदेशी र विधर्मीहरूको सांस्कृतिक र सभ्यतागत हमला र हस्तक्षेपका विरुद्धमा कलम चलाएका छन् । पछिल्लो दशकका घटना राजनीतिक संघर्ष मात्र होइन, यो त सांस्कृतिक युद्ध हो, सभ्यतागत संघर्ष हो, नेपाली जातिको पहिचान, संस्कृति र सभ्यता बचाइराख्ने कि मर्न मार्न दिने भन्ने सभ्यता–संघर्ष हो । यसैको बीज उपन्यासमा पाइन्छ ।
वाग्ले ऐतिहसिक पात्रलाई प्रण भर्न सिपालु छन्, सशक्त चरित्र दिन प्रवीण छन्, इतिहासको शुक्ष्म विषयलाई सजीव बनाउन निपुण छन् । चरित्र चित्रण, प्रकृति चित्रण संस्कृति र कलाको चित्रणमा समेत उनको अभिरूचि रहेको पाइन्छ । पौरस्त्य दर्शनको उपयोगसमेत उनले गरेका छन् । उनी घटना वा कुनै विचारको व्याख्या विस्तारमा विचरण गर्न चाहन्छन् । वाग्विस्तार र व्याख्यात्मकता उनको विशेषता हो । साहित्यले खोज्ने स्तरीय र कलात्मक भाषा एवं सुन्दर अभिव्यक्ति प्रणालीमा उनी सिद्धहस्त देखिन्छन् ।
३. ऐतिहासिक उपन्यासका सन्दर्भमा वाग्लेका उपन्यास
इतिहासका विभिन्न कालखण्डमा घटित यथार्थ घटनालाई जस्ताको तस्तै चित्रण वर्णन गरी लेखिएको उपन्यास नै ऐतिहासिक उपन्यास हो । न्नेपाली औपन्यासिक परम्परामा ऐतिहासिक उपन्यास लेखनको परम्परा त्यति लामो नभएपनि २००६ सालबाट ऐतिहासिक उपन्यास लेख्न थालिएको पाइन्छ । यस धाराका प्रथम सर्जक डायमन शमशेर मानिन्छन् र उनको वसन्ती (२००६) नै पहिलो ऐतिहासिक उपन्यासका रूपमा पञ्जीकृत रहेको पाइन्छ । डायमनले सेतो बाघ(२०३०) प्रतिबद्ध (२०३४) सत्प्रयास(२०३८) र अनिता (२०४३) जस्ता ऐतिहासिक उपन्यास लेखेका छन् । केशवराज पिंडालीको एकादेशकी महारानी(२०२६) खगेन्द्र केसी.को खानदान(२०३५) सुन्दरप्रताप शाहको प्रतिवाद(२०४०) र त्रिफट्( २०४२) श्रीकृण श्रेष्ठको जङ्गबहादुर (२०५१) दौलतविक्रम बिष्टको फाँसीको फन्दा (२०५३) जस्ता उपन्यासहरू नेपाली साहित्यको क्षेत्रमा ऐतिहासिक उपन्यासका रूपमा समाविष्ट रहेका छन् । यिनै उपन्यासहरूको पङ्क्तिमा वाग्लेकै बन्धनशालाको खीर उभिइसकेको छ । बन्धनशालामा खीर ०४५।०५६ सालको जनआन्दोनबाट शुरुभएर माओवादी हिंसात्मक आन्दोलनको चित्रण वर्णन गर्दै समकालीन नेपालको राजनीतिक, सांस्कृतिक सामाजिक कुराको उल्लेख गरी माओवादी हिंसाप्रति अरुचि देखाउँदै टुङ्गिएको छ । अब बलिदानले बनेको देश पनि त्यही श्रेणीमा खडा हुँदैछ ।डायमन शमशेरको वसन्तीले चलचित्रमा रूपान्तरण हुने अवसर पाइसकेको छ भने बलिदानले बनेको देशले पनि राष्ट्रनिर्मातालाई नायक बनाउँदै चलचित्रमा रूपान्तरण हुन सक्ने संभावना बोकेको छ ।

४. उपन्यासको वस्तु विवरण

प्रस्तुत उपन्यासमा पृथ्वीनारायण शाह(वि.सं १७७९–१८३१)को नेतृत्वमा भएको नेपाल एकीकरणको ऐतिहासिक घटनाक्रमलाई कथावस्तुको रूपमा प्रयोग गरिएको छ । पृथ्वीनारायण शाहको बाल्य जीवन, शिक्षादीक्षा, सैनिक तालिम, मकवानपुरे राजा हेमकर्ण सेनकी छोरीसंगको विवाह, विवाहमा खटपट भई गोरखालीहरू रित्तो हात फर्कनु परेको घटनाबाट पहिलो खण्डमा नेपाल एकीकरण रूप ऐतिहासिक कथावस्तुको बीजारोपण भएको पाइन्छ । पहिलो खण्ड नै ऐतिहासिक आख्यानसूत्रको प्रारम्भ भागको रूपमा रहेको छ ।

दोस्रो र तेस्रो खण्ड ऐतिहासिक आख्यानसूत्र विकासावस्थामा रहेको पाइन्छ । दोस्रो खण्डमा पृथ्वीनारायण शाह मकवानपुरे राजाकै निम्तो अनुसार रानी इन्द्रकुमारीलाई लिन मकवानपुर गए तर यस पटक पनि गडबड भई रित्तै हात गजमोतीको माला, नौलाखे हीरा र एकदन्ते हात्तीको साथ छोरी पठाउन आग्रह गरे, अन्यथा युद्ध गरेर प्रथम रानीलाई गोरखा दरबारमा भित्र्याउने हाँक दिई पृथ्वीनारायण काठमाडौ.तिर लागे भने कालु पाडेको टोली गोरखा फर्कियो ।काठमाडौं उपत्यकाको सौन्दर्य, सांस्कृतिक वैभव रवाग्मती सभ्यताबाट प्रभावित भई पृथ्वीनारायण आफ्नो मनमा रहेको नेपाल एकीकरण गर्ने इच्छा झन् प्रबल बनाई गोरखा फर्किए, अनि गोरखा दरबारमा एकीकरणको रणानीति निर्माणमा संलग्न भए । यसै बिच पृथ्वीनारायणको वनारसमा बस्दै रहेका गोरखपुरतिरका राजपूत अहिमानसिंहकी छोरी नरेन्द्रदेवीसत डोला मैयाको रूपमा गोरखामा नै विवाह भएको छ । पृथ्वीनारायणले नेपाल एकीकरणको लागि गरेका सैन्य संगठन, जनसम्पर्क, देशदेशाटन, बनारस गई हातहतियारको संकलन,गोत्र परिवर्तन, फर्कदा बाटामा भएको आकस्मिक युद्ध, नरभूपाल शाहको मृत्यु, राज्यारोहण,कालुपाण्डेलाई कजाईं दिएको जस्ता घटनालाई यस दोस्रो खण्डमा प्रस्तुत गरिएको छ ।

तेस्रो खण्डमा ४७ परिच्छेद लगाएर नेपाल एकीकरणका लागि भएका यावत् प्रयत्न र प्रयासहरूको विसद चित्रण गरिएको छ ।नेपाल एकीकरण र विशाल नेपाल निर्माणको स्वप्नद्रष्टा पृथ्वीनारायण शाह राजा भएपछि नुवाकोटको आक्रमण शुरु हुन्छ र विजय पनि हात लाग्दछ । त्यसपछि काठमाडौं उपत्यकाकाको वरिपरिका भूभाग धुलिखेल, बनेपा, पनौती, चौकोट, नाला, फर्पिङ, चोभार आदि पनि गोर्खाली फौजले आफ्नो कब्जामा लिन्छ । यस खण्डमा उपत्यकाको तीनै राज्यको तत्कालीन राजनीतिको विशद विवरण पाइन्छ भने तत्कालीन नेपाल मण्डल र उपत्यकाको राजनीति, आर्थिक, समाजिक, धार्मिक, सांस्कृतिक अवस्थाका बारेमा विस्तृत रूपमा प्रतिपादन गरिएको पाइन्छ । पूर्व पश्चिमका अन्य राज्यहरूका विषयमा पनि चर्चा परिचर्चा गरिएको भेटिन्छ ।

उपन्यासको चारौं खण्ड २८ परिच्छेदमा विभक्त रहेको छ र नेपाल एकीकरणको जग बसाएर यो खण्ड परिसमाप्त भएको देखिन्छ । उपन्यासले ग्रहण गरेको विषयवस्तुको उत्कर्ष अंश यस खण्डमा अभिव्यक्त रहेको छ ।नेपाल मण्डल वरपर रहेका भूभाग आफ्नो कब्जामा लिई केही समय विश्राम गरेर तयारीका साथ गोरखाली फौजले कीर्तिपुर उपर आक्रमण ग¥यो तर उपत्यकाका तीनैवटा राज्यले मिलेर प्रत्याक्रमण गरेकाले गोरखाली फौज टिक्न सकेन र पछि हट्नुप¥यो । यसै युद्धमा गोरखाली फौजले काजी कालु पाण्डेलाई गुमाउनु प¥यो । दोस्रो आक्रमणमा पनि गोरखालीहरू असफल रहे भने तेस्रो आक्रमणमा गोरखालीले कीर्तिपुरमा विजय हासिल गरे । यसै अण्डमा जयप्रकाशलाई सघाउन किनलकको नेतृत्वमा आएको अंग्रेज फौज र अंग्रेज फौजका विरुद्ध गोरखाली फौजको रोमाञ्चपूर्ण युद्धको वर्णन एवं किनलकको युद्धयात्राको विवरणसमेतले यो खण्ड सशक्त बन्न पुगेको छ । त्यस्तै कीर्तिपुर युद्धको रोमाञ्चपूर्ण वर्णन, काठमाडौंं विजय र ललितपुर एवं भक्तपुर विजयको रोमहर्षक चित्रण वर्णन पनि यसैखण्डमा रहेको पाइन्छ ।मकवानपुरको विजय र चौदण्डी एवं विजयपुरको जित पनि यसै खण्डमा रहेको छ । गोरखापश्चिमका रिसिङ, ढोर, स्याङजा,भीरकोट आदि क्षेत्र पनि नेपालमा समाहित भएका कुरा यसै खण्डमा पर्दछन् ।

उपन्यासको ५ औं खण्ड उपसंहार भागका रूपमा रहेको छ । यसको शीर्षक नै ‘उपदेश र चिन्ता’ राखिएको छ ।यो खण्ड २ परिच्छेद ७ पृष्ठमा फैलिएकाले सबैभन्दा सानु खण्ड रहेको स्पष्ट नै छ । यहाँ पृथ्वीनारायण शाहले एकीकृत नेपाललाई कसरी जोगाउने र विशाल नेपाल बनाउने अभिभारा कसरी पूरा होला भनेर चिन्ता र चासो राखेका छन्,नुवाकोट दरबारमा आफ्ना भाइभारदारहरूलाईनेपाललाई चारैतिरबाट सुरक्षित गर्ने र विशाल नेपाल रचना गर्ने सूत्र र उपदेशसमेत दिएका छन् । नेपाल निर्माता दूरद्रष्टा एवं वीरयोद्धा पृथ्वीनारायण शाह र राजमाता एवं वीराङ्गना पट्टमहिषी इन्द्रकुमारीको समेत दिवङ्गत भएको घटनामा पुगेर उपन्यास टुङ्गिएको छ ।

५. चरित्रचित्रण,
पृथ्वीनारायण शाह यस उपन्यासका धीरोदात्त नायक हुन्, उपन्यासको सम्पूर्ण घटनाहरू उनकै केन्द्रीय वृत्तमा घुमेको छ । इतिहासको पुस्तकमा पाइने शाहका केही ऋणात्मक चरित्रलाई उपन्यासकारले सकारात्मक उच्चतर चरित्र प्रदान गरेका छन् । सानैदेखि पृथ्वीनारायण शाहलाई आमा चन्द्रप्रभादेवी, गुरुपुरोहितहरू र युद्धविशारदहरूले तालिम दिएका छन् । त्यसैले गर्दा उनी शूरवीर, धीराग्रणी, धीरोदात्त, सक्रिय, दूरद्रष्टा, निडर, रणनीतिक कौशलयुक्त, युद्धप्रवीण, राजनीतिक विश्लेषकका रूपमा देखा पर्दछन् । नुवाकोट युद्धमा र बेलकोट युद्धमा पृथ्वीले तैनाथ गरेको सैन्यव्यूहले नै उनको रणकौशलको परिचय दिन्छ ।मैदानी युद्ध र पहाडी युद्धका विषयमा पनि पृथ्वी सचेत देखिन्छन् । कान्तिपुरका राजा जयप्रकाश र रानी जयलक्ष्मकिो पारस्परिक द्वन्द्व र रानीको चरित्र स्खलनले गर्दा अनि नेपाल मण्डल वा महामण्डलको आन्तरिक शक्ति संघर्षले गर्दा यिनीहरूको पतन अवश्यंभावी छ भन्ने कुरा पृथ्वीले राम्ररी बुझेका थिए तदनुसार नै पृथ्वीले आफ्नो रणनीति बनाएका थिए ।
आत्यन्त चलाखीपूर्ण रणनीतिका साथ मध्यरात आक्रमण गरी नुवाकोट र बेलकोटसमेत गोर्खाली फौजले जितेपश्चात् नालदुम गढी कब्जा गर्दा सेनापति सरदार शिवराम बस्न्यात मारिएका छन् । यस समयमा उनकी वीरपत्नी शूरप्रभासंग पृथ्वीले गरेको संवाद रोमाञ्चक छ । वीरपत्नीले भन्निन् ‘उनी सिंह थिए’ नाबालक ४ छोराहरूलाई देखाउँदै भनिन् ‘यी सिंहका डमरु हुन्, म हजुरलाई एकका ठाउँमा चार वोटा डमरु दिन आएकी छु’ नेपाल एकीकरणमा युद्ध मैदानमा नगएका वीरमाताहरूको भूमिका कति महत्त्वपूर्ण थियो यसले स्पष्ट पार्छ । नुवाकोटमा प्रत्याक्रमण हुन खोज्दा पृथ्वीले भाइभारदारलाई संझाउँदै कान्तिपुरे फौज बाख्रा हुन्, गोरखाली फौज सिंह हुन्, बाख्राको बथान जति नै ठूलो भएपनि एउटै सिंह काफी हुन्छ, गोर्खाली फौज एक कदम पनि पछाडि हट्दैन, ‘नेपाल राष्ट्र निर्माणका लागि मैले आफ्नो प्राण हत्केलामा राखिसकेको छु’ भनेर हौसला दिएका छन् ।यसबाट उनको वीरव्यक्तित्वको परिचय पाइन्छ ।
पछि इन्द्रकुमारीलाई गोरखा दरबारमा भित्र्याएपछि रानीलाई भनेका छन् ‘मेरो कर्मयोग नेपाल राष्ट्रनिर्माणसंग सम्बन्धित छ । म राष्ट्रनिर्मााणको लागि जीवन समर्पित गर्न चाहन्छु ।हिमवत् खण्डलाई एक राष्ट्र बनाएर त्यसको केन्द्र बाग्मती उपत्यकालाई बनाउँदैछु, त्यसलाई सुरक्षित र सुदृढ बनाएका दिन मेरो लक्ष पूरा हुनेछ’ भनेका छन् । अर्को ठाउँमा ‘म गोरखाको आधिपत्य स्थापित गर्न गइरहेको छैन । म त नेपाल राष्ट्र निर्माणको पक्षमा छु’ भनेका छन् पृथ्वीले । पृथ्वी जति कठोर छन् त्यति नै दयालु पनि छन् । कीर्तिपुरमा विजय हासिल गरेपछि कीर्तिपुरेलाई जथाभावी दण्ड गर्न खोजेकामा आपत्ति जनाएका छन् भने भक्तपुरको युद्धमा महिला वृद्ध र केटाकेटीमाथि गोली परेकामा आफ्ना फौजलाई हकारेका छन् भने पछि पराजित राजासंग क्षमा याचना गरेका छन् । पश्चिमका राज्यहरू कास्की, पर्वत, लमजुङ, तनहूँ एक भई पटकपटक गोरखामा हमला गरेका छन् तर गोरखाली वीरहरूले त्यो संयुक्त हमलालाई पृथ्वीकै निर्देशनमा परास्त गरिदएका छन् ।
पृथ्वी कूटनीतिक युद्धमा पनि प्रवीण छन् । नुवाकोट जित्न त्यहाँका उमराव जयन्त रानालाई फकाउन उनकै साला शेरबहादुर गरन्जालाई पठाइएको छ । कान्तिपुरमा दूतावास खोलिएको छ भने विभिन्न राज्यमा विभिन्न किसिमका दूतहरूको प्रयोग गरिएको छ । ब्राह्मणहरूलाई तीर्थयात्रीको भेषमा प्रच्छन्न दूतका रूपमा काममा खटाइएको छ ।क्षेत्रपतिहरूलाई र ग्रामपतिहरूलाई पृथ्वीले संभव भए भेट्ने र नभए पत्राचार गर्ने गरेका छन् । उत्तर र दक्षिणतिरका छिमेकी राष्ट्रहरूसंग पनि उनले सन्तुलित सम्बन्ध राखेको पाइन्छ । अंग्रेजहरूलाई त उनले ठूलै धक्का दिएका छन् । जयप्रकाशलाई सघाउन आएका २४०० सेनामध्ये १७०० सेना सिन्धुलीगढीमा मारिएका छन् ।
इन्द्रकुमारी स्वकीया नायिकाका रूपमा देखा पर्दछिन् । मकवानपुरे राजा हेमकर्ण सेनकी छोरी दरबारमा तालीम पाएकी इन्द्रकुमारी सानै उमेरदेखि शालीन, शिष्ट र मर्यादित व्यवहारमा निपुण देखिन्छिन् । इन्द्रकुमारी राजा हेमकर्णसंग काठमाडौं र गोरखासमेत पुगेकी छन् । इन्द्रकुमारीलाई देखेर जयप्रकाशमल्ल रोमाञ्चित कामुक बनेका छन् भने गोरखा दरबारमा पृथ्वीलाई देखेर इन्द्रकुमारीमा कौतुहल र भावुकवृत्तिको विकास भएको छ । विवाहमा दाजु दिग्वन्धन सेनको उद्दण्डताले गर्दा र गौना संस्कृतिको चलनले गर्दा गोर्खाली र मकवानपुरेका बिच केही खटपट भएको छ । पछि गौना गर्न जाँदा पनि गडबड भएको छ, तै पनि इन्द्रकुमारलिे राजा पृथ्वीलाई मनभरि संझिरहिन् भने पृथ्वीले दोस्रो बिहे गरेपछि पनि पत्रका माध्यमबाट आफ्नो धैर्यशील व्यक्तित्व र कूटनैतिक छविको परिचय दिएकी छन् । सती साध्वी हिन्दु आदर्श महिलाको छवि उनमा पाउन सकिन्छ । चौतारा पदवी उनलाई नै मिलेको छ भने पछि युद्धका बेला पनि उनले पृथ्वीलाई सघाएकी छन् । प्रत्येक जसो भारदारी सभामा उपस्थित रहेर आफ्नो भूमिका पनि प्रस्तुत गरेकी छन् । त्यतिमात्र होइन मकवानपुरको युद्धमा त स्वयं उपस्थित भएर युद्धमोर्चा समालेकी छन् वीरमाता र वीराङ्गनाको पदबाट विभूषित छिन् ।
चन्द्रप्रभादेवीयस उपन्यासकी महत्वपूर्ण पात्र हुन.्, उनी नेपाल निर्माताका पनि निर्मात्री हुन् । खाँचीकोटकी राजतनया चन्द्रप्रभादेवी गोरखा दरबारकी चन्द्रमा हुन्, चौतारा महारानी हुन्, नरभूपालकी पट्टमहिषी र पृथ्वीकी विमातृ हुन्, तर कर्तव्यको हिसावले पृथ्वीनारायण शाहको निर्मात्री हुन्, गोरखा दरबारको एकता र सञ्चालनमा महत्वपूर्ण स्थान र नेपालको एकीकरणमा उनको भूमिका प्रच्छन्न तर महनीयरहेको देखिन्छ ।
भाइभारदार,काका जहाँगिर शाह, भाइहरु महाद्दामकीर्ति शाह, दलजित शाह, दलमर्दन शाह सुरप्रताप शाह, अन्य विष्णु शाह, तुला शाह, चन्द्रप्रकाश शाह, भद्र शाह, मुरलीधर शाह, अजिल्ल शाह, वेणुधर शाह, रणरुद्र शाह, अटल शाह, प्रकाश शाह, रहेका छन् । नेपाल एकीकरणमा यिनीहरूको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।
सैनिक कमान्डर,काजी कालु पाण्डे, काजी रणरुद्र शाह, उमराव भीमसिंह थापा, बडावीरहरू रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाय जस्ता अनेक काजी र सैनिक कमाण्डरहरूको उपस्थिति उपन्यासमा रहेको पाइन्छ ।शिवरामसिंह बस्न्यात सुरथसिंह रानापृथ्वीका युद्धविद्याका प्रशिक्षक रहेका छन् । अन्य सैनिक अगुवाहरूमा तुलाराम पाण्डे, शिवराम सिंह बस्नेत, वीरभद्र थापा बगाले, रामकृष्ण कुावर, जसकर्ण पाण्डे, जय बानिया, विरज बखती, चामु रोकाया, श्रीउपाध्याय कडरिया, राधाकृष्ण कट्टेल लक्ष्मीनारायण पाण्डे, आदि रहेका छन् र यिनीहरू एकसे एक बुद्धिजीवी र वीर योद्धा रहेका छन् । नेपाल एकीकरणको महान् अभियानमा यिनीहरूको ठूलो प्रतिवद्धता, बलिदान र समर्पण रहेको देखिन्छ ।
गुरुपुरोहित, राजगुरु गोकुलविलास पाण्डे, गुरु हरिलाल उपाध्याय वाग्ले, पण्डित शक्तिवल्लभ अर्याल, भानु अर्याल, राधाकृष्ण कट्टुेल, राजज्योतिष कुलानन्द ढकाल, मोक्षेश्वर, आदि गुरुपुरोहितहरूको भूमिका पनि नेपाल एकीकरणमा महत्त्वपूृर्ण रहेको देखिन्छ ।
अन्य केही राजारजौटाहरूमकवानपुरका राजा हेमकर्ण सेन, पट्टरानी हेमावती, युवराज दिग्बन्धन सेन, र अमात्य कनकसिंह बानियााको समेत उपस्थिति पाइन्छ । त्यस्तै काठमाडौंका राजा जगज्जय मल्ल र उनकी रानी, उनका राजतनय जयप्रकाश मल्ल, मुख्य काजी दाटी प्रधान, काजी पद्मसुन्दर मास्के, र काजी रणभीम थापा र काशीराम थापाको पनि चर्चा छ । पाटनका राजा विश्वजित मल्ल र उनको दुश्चरित्रको समेत चित्रण गरिएको छ भक्तपुरका राजाको पनि चर्चा छ ।
६. उपन्यासको संरचना एवं भाषाशैली
प्रस्तुत उपन्यास पाँच खण्ड र १२० परिच्छेद (३९१पृष्ठ)मा फैलिएको छ । पहिलो खण्ड १८ परिच्छेदमा विभिक्त छ भने दोस्रो खण्ड पनि १८ परिच्छेदमा नै विभक्त छ । पहिलो खण्डको उपशीर्षक ‘राजनीतिक लाभ लिने सोच’ राखिएको पाइन्छ भने दोस्रो खण्डको उपशीर्षक ‘युद्धको हाँक’ रहेको छ । तेस्रो अनुच्छेद ४७ परिच्छेदमा विभक्त रहेको छ भने यसको उपशीर्षक ‘एकीकरणतर्फ’ राखिएको छ । चौथो खण्ड २८ परिच्छेदमा विस्तारित छ भने यसको उपशीर्षक ‘एकीकरणको जग’राखिएको छ । पाँचौ खण्ड २ परिच्छेदमा छ भने यसलाई ‘चिन्ता र उपदेश’उपशीर्षक दिइएको छ । पहिलो खण्ड प्रारम्भावस्था हो भने दोस्रो र तेस्रो खण्ड विकासावस्था हो ।चौथो खण्ड उत्कर्षावस्था हो भने पाँचौं खण्ड अन्त्य वा अपकर्षावस्था हो । पृष्ठ संख्या, ५ खण्ड र १२० परिच्छेद आदिको समेत विचार गर्दा प्रस्तुत उपन्यास बृहदाकारको रहेको देखिन्छ । उपन्यासकारले कृतिलाई खण्ड र परिच्छेदमा विभक्त गरेकाले पाठक अलमलिने स्थिति छैन र यसले बाह्य संरचनामा केही सुदृढतार स्पष्टता ल्याएको अनुभव हुन्छ । तर खण्डयोजनाको अङ्गसंगठन त्यति सन्तुलित भने छैन । तेस्रो ४७ र पाँचौं खण्ड २ परिच्छेदमा विभक्त हुनुले यसैलाई संकेत गर्दछ ।

उपन्यास सामान्यतया वर्णनात्मक शैलीमा संरचित छ भने आवश्यकता अनुसार संवाद र पत्रशैलीसमेत प्रयोग गरिएको छ । उपन्यास सरल कथन पद्धतिमा लेखिएको छ भने अभिव्यक्तिगत स्तरीयता र विशिष्टता पनि कायम रहेको छ । वर्णन र विभिन्न पात्रबाट अभिहित संवाद प्रायः सामान्यार्थक वाक्य ढाँचामा आएका छन् भने प्र्रश्नार्थक, सम्भावनार्थक, सम्बोधनार्थक, विध्यर्थक वाक्य ढाँचा पनि प्रयुक्त छन् । कतिपय ठाउँमा उखान, टुक्का सूक्ति पनि प्रयुक्त भएका छन् र एकाध ठाउँमा ‘संस्कृत–सूक्ति’ पनि समाविष्ट छन् । तिनले कथनपद्धतिलाई निकै सुन्दर, रमणीय र प्रभावपूर्ण पनि बनाएका छन् । विभिन्न ठाउँका वर्णन वा संवादका वाक्यमा उपमा, दृष्टान्त, रूपक, उत्प्रेक्षा जस्ता अलङ्कार मिश्रित वाक्य पनि प्रयुक्त हुन आएका छन् भने अनुप्रासयुक्त, शब्दहरू पनि ठाउँ–ठाउँमा प्रयोग भएका छन् । ‘सिंहको बच्चालाई सानु ठान्नु हुन्न’ उनी सिंह हुन्’ जस्ता वाक्य अलङ्कारयुक्त वाक्य धेरै ठाउँमा आएका छन् ।

ववाक्पटु एवं भाषणप्रवीण वाग्लेको भाषाशैली अत्यन्त प्रवाहशील र प्रभावपूर्ण रहेको अनुभव हुन्छ । साहित्यिक स्तरको प्रौढ र प्राञ्जल भाषा प्रयोग गर्न वाग्ले निपुणदेखिन्छन् भने कलात्मकताको सन्धान र दर्शनको समेत प्रयोगले गर्दा वाग्लेको अभिव्यक्ति परिष्कृत बन्न पुगेको पाइन्छ । इतिहासको यथार्थपरक शुष्क विषयलाई वाग्लेले कल्पनाको जलप दिएर सरस भाषाशैलीमा अभिव्यक्ति दिएका छन् र नीरस विषयलाई रसदार र जीवन्तः तुल्याएका छन् । कतैकतै लामालामा अनुच्छेद र लामा संभाषणहरूले पाठकलाई पट्यार लाग्नु पर्ने होतापनि वर्णन कौशल र ओजपूर्ण एवं प्रौढिमायुक्त अभिव्यक्तिले गर्दा पाठक अल्मलिदैन र पठनप्रवाह पनि विघटित हुँदैन । संवादात्मक शैलीको भाषा र पत्रहरूको सन्निेवेशले समेत गर्दा उपन्यास सहृदय–हृद्यग्राह्य बन्न पुगेको छ । इतिहासका पात्रहरू बोल्दैनन् र उनीहरू जिउँदाजाग्दा पनि हुदैनन् तर इतिहासको औपन्यासिक रूपान्तरण गर्दा ती पात्रमा प्राणाधान गरिएको हुन्छ र तिनीहरू मानवीय संवेदनाका साथ संवाद र क्रियाकलाप गर्न थाल्दछन् ।नेपाल एककीरणका ऐतिहासिक पात्रहरू उपन्यासमा जीवन्तः बनेर प्रस्तुत भएका छन्, जसले उपन्यासलाई गतिशील, अश्वाद्य र अकर्षक बनाएका छन् ।
७. द्वन्द्वयोजना
प्रस्तुत उपन्यास द्वन्द्वविधानका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको प्रतीत हुन्छ । बाह्य द्वन्द्व र आन्तरिक द्वन्द्व मध्ये यस उपन्यासमा बाह्य द्वन्द्वकै आधिक्य रहेको पाइन्छ । गोरखादरबारमा घटित कतिपय घटना, पृथ्वीनारायण शाह, इन्द्रकुमारी, जयप्रकाशमल्ल, राजमाता चन्द्रप्रभावती आदि केही पात्रमा हल्का रूपमा मनोद्वन्द्वले पनि स्पर्श पाएको पाइन्छ । दोस्रो, तेस्रो र चारौं खण्डका घटनाहरू बाह्य द्वन्द्वमा केन्द्रित देखिन्छन् । अन्तिम पाँचौं खण्डको घटनामा बाह्यद्वन्द्व शिथिल भई आन्तरिक द्वन्द्वले केही प्रवेश पाएको देखिन्छ ।

वाइसी चौबीसी सानासान राज्यहरूलाई जोडेर एउटै बलियो र विशाल राष्ट्र बनाउन उद्यत रहेका पृथ्वीनारायण शाहले आफ्नै जेठान मकवानपुरे राजकुमार दिगबन्धन सेनलाई युद्धको हाँक दिएपछि द्वन्द्व शुरु भएको देखिन्छ । नुवाकोटको र बेलकोटको युद्धको वर्णन अत्यन्त रोमाञ्चक रहेको छ । नुवाकोट विजयपछि काठमाडौ वरपरका धुलिखेल, बनेपा, पनौती, चौकोट, नाला, फर्पिङ, चोभार आदि ठाउँमा भएको द्वन्द्व र कीर्तिपुरको युद्ध साँच्चै नै रोमाञ्चक रहेको छ । । कीर्तिपुरको पहिलो युद्धमा कालु पाण्डेले युद्ध मैदानमा नै वीर गति प्राप्त गरे ।

कीर्तिपुरसित त तीनपटकसम्म लड्नुपरेको छ । कीर्तिपुर जितेपछि जयप्रकाश मल्ललाई सहयोग गर्न आएको अंग्रेज फौज विरुद्धको गोर्खाली सेनाले गरेको आक्रमण झन् रोमहर्षक रहेको देखिन्छ ।त्यस्तै मकवानपुरे राजालाई सहयोग गर्न आएको नवाव कासिम अलि खानको फौजसंग पनि गोरखाली फौजले वीरतापूर्वक लडी विजय हासिल गरेको छ । कीर्तिपुरविजयपछि काठमाडौं, ललितपुर र भक्तपुरसंगको युद्ध र विजय पनि चित्ताकर्षक रहेको छ । कीिर्तिपुरको अर्को युद्धमा उनका भाइ सुर प्रताप शाहको एक आँखा फोरियो अनि पृथ्वीनारायण शाहकै धन्नै ज्यान गएको थियो । काठमाडौं उपत्यकाका तीनै शहरमाथि विजय हासिल गरी पूर्वी तराईका अनेक साना राज्यहरूलाई नेपालमा समाहित गर्दै विजयवैजयन्ती पहिरिंदै गोरखाली सेनाले विजयपुर हातपारेपछि नेपालको पूर्वी सिमाना टिस्टासम्म पुगेको थियो । यस क्षेत्रलाई हात पार्न र मकवानपुरलाई हात पार्नसमेत गोरखाली फौजलाई निकै हम्मेहम्मे परेको पाइन्छ । एकपटक त गोरखाली सेना काली पार गरी सो क्षेत्र हात पार्नसमेत सफल भएको देखिन्छ । यी सबै युद्धहरूमा देखिएको बाह्यद्वन्द्व अत्यन्त प्रभावपूर्ण रहेको छ । साथै यस उपन्यासमा अनेक इतिहास, स्मृतिग्रन्त, अनुसन्धानग्रन्थ, शोधप्रबन्ध पत्रपत्रिकाका खोजपरक आलेखहरू र विद्वान्हरूसंगको छलफल र विचारविमर्शबाटसमेत सामग्री ग्रहण गरिएकाले इतिहासका पुस्तकमा पढ्न नपाइने रोमहर्षक द्वन्द्व र घटनाहरूसमेत समाविष्ट रहेका पाइन्छन् ।

आन्तरिक द्वन्द्व भने यस उपन्यासमा थोरै मात्रामा पाइन्छ । पृथ्वीनारायण, इन्द्रकुमारी र जयप्रकाशका बिचमा त्रिकोणात्मक मनोद्वन्द्वको संभावना र बीज पाइएतापनि त्यसको विस्तार हुनसकेको देखिंदैन । पृथ्वीनारायणमा आन्तरिक छटपटी ठाउँठाउँमा देख्न पाइन्छ भने नवोढा षोढा इन्द्रकुमारीमा आन्तरिक द्वन्द्व भेटिन्छ । विप्रलब्धा नायिका षोढा इन्द्रकुमारीका मानसिक द्वन्द्व र छटपटी उनका चिठीमार्फत व्यक्त भएको पाइन्छ ।यसरी प्रस्तुत उपन्यासमा द्वन्द्व विधान विहित भएको बुझिन्छ ।

८.सांस्कृतिक वैभव एवं वास्तुकला
प्रस्तुत उपन्यास सांस्कृतिक वैभव र कलात्मक विशेषताले युक्त रहेको पाइन्छ । वागमती उपत्यकाको सभ्यताको चित्रण र वर्णनका हिसावले पनि यो उपन्यास महत्त्वपूर्ण रहेको छ । मकवानपुरे राजा हेमकर्ण जगज्जय मल्लको निम्तोमा काठमाडौं आउँदा उनले काठमाडौंका थुप्रै ठाउँको भ्रमण र अवलोकन गरेका छन् । काठमाडौका मल्लकालीन मठमन्दिर, भवन, कलाकृति र विशेष गरेर मूर्तिकलाको वर्णन आस्वाद्यरूपमा गरिएको पाइन्छ । सांस्कृतिक वैभवमा जीवनशैली, खानपान, वेशभूषा, गरगहना, युद्ध, हातहतियार, वास्तुकला, (भवनकला, मूर्तिकला, देवतायतन, प्रासादकला) चित्रकला, संगीतकला (गीत, नृत्य र वाद्यवादन), मनोरञ्जन, धर्मदर्शन, मूल्यमान्यता आदि रहेका छन् । संस्कृतिलाई (क) भौतिक संस्कृति र अभौतिक संस्कृति वा मूर्त संस्कृति र अमूर्त संस्कृतिका रूपमा पनि विभाजन गरी विश्लेषण गरिएको पाइन्छ । यस उपन्यासमा भौतिक र अभौतिक दुवै संस्कृतिको मनमोहक र चित्ताहारी वर्णन गरिएको दृष्टिगोचर हुन्छ । मानवनिर्मित वातावरण वा मूर्त अमूर्त यावत् कुराहरू नै संस्कृतिभित्र पर्ने हुनाले यस उपन्यासमा ती सबै जसो सांस्कृतिक सन्दर्भको यथोचित उपयोग गरिएको देखिन्छ । धार्मिक संस्कार र षोडश संस्कारहरूको पनि यथोचित परिचय पाइन्छ । इन्द्कुमारीसंगको विवाह वैदिक विधिअनुसार भएको छ भने राज्याभिषेक पनि वैदिक विधिअनुसार सम्पादित छ ।
वास्तुकला, मूर्तिकला, मन्दिरकला, प्रासादकला आदिका दृष्टिले पनि प्रस्तुत उपन्यास महत्त्वपूर्ण रहेको छ ।राजा हेमकर्ण सेन गुह्येश्वरी र पशुपतिको दर्शन गर्न काठमाडौं आएका छन् । मन्दिरमा पुग्दा त्यहाँको वास्तुकला, मन्दिरको भव्यता देखेर विस्मित बनेका छन् । पशुपति पुगेका उनीहरू त्यो भव्य मन्दिर देखेर मन्त्रमुग्ध बनेका छन् । वास्तुकला र मूर्तिकलाको अनुपम छटा देखेर आनन्दविभोर भएका छन् । हनुमान् ढोका दरबारको कलात्मक सौन्दर्यको वर्णन पनि चमत्कारपूर्ण छ । भक्तपुरको कलात्मक सौन्दर्य र दत्तात्रेय मन्दिरको वर्णन पनि कम चित्ताकर्षक छैन । पाटनको कृष्णमन्दिर र त्यस वरपरका वास्तुकलाको चित्रण, बूढानीलकण्ठको मूर्तिकलाको विवरण, बौद्ध र स्वयम्भूको चैत्यको वर्णन सबै रमणीय र महनीय रूपमा प्रस्तुत भएका छन् । गोरखादरबार, मकवानपुरका तीनवटा दरबार (गढी दरबार, रानी दरबार, राजादरबार) र अन्य कतिपय ठाउँमा रहेका भवन, मन्दिर र वास्तुकलाको वर्णन स्पृहणीय रहेको छ ।
पौरस्त्य धार्मिक आस्था र दार्शनिक चिन्तनको समुचित वर्णनले पनि प्रस्तुत उपन्यालाई महिमामण्डित तुल्याएको छ ।दार्शनिक दृष्टिले पनि प्रस्तुत उपन्यास महत्त्वपुर्ण रहेको छ । राजा हेमकर्ण गुह्येश्वरी पुग्दा पुजारीले गुह्यकालीको तान्त्रिक व्याख्या समेत गरेका छन् । सिद्धिलक्ष्मी, सिद्धिकाली कामकलाकालीको समष्टिरूप नै गुह्यकाली हुन् भनिएको पाइन्छ ।पशुपतिका पुजारीले पशु पाश र पतिको वर्णन गर्दै पाशुपत वा शैव दर्शनको व्याख्या गरेका छन् । शिव वा पशुपति स्वयं महाकाल हुन्, त्यसैले उनलाई कालले ग्रास गर्न सक्तैन । वाग्मतीलाई सरस्वतीको रूपमा व्याख्या गरिएको पाइन्छ भनेसप्तगण्डकीलाई सप्तमातृकाका रूपमा व्याख्या गरिएको पाइन्छ । दत्तात्रेय मन्दिरको वर्णन क्रममा योगदर्शनको पनि वर्णन गरिएको भेटिन्छ । कपिल, शङ्कराचार्य, वैष्णव सम्प्रदाय र बुद्धका वैचारिक चिन्तनसमेत उपन्यासमा प्रस्तुत भएका छन् । गोसाईंकुण्ड, इन्द्रदह र दत्तात्रेयको उत्पत्तिको प्रसङ्ग पनि निरूपण गरिएको पाइन्छ ।
ससङ्गीतकलाका सन्दर्भहरू पनि प्रस्तुत उपन्यासमा पाउन सकिन्छ । सङ्गीतकलामा गीत, नृत्य र वाद्यवादन पर्दछन् । असारको रोपाईको सन्दर्भमा कृषिसंस्कृतिको परिचय दिइएको छ भने ठाडा भाकामा असारे गीत पनि प्रस्तुत गरिएको छ ।
असारमा खाने दुदिला मकै साउनमा खाने खीर । घरमा छैन सितलु वचन मनमा छैन थिर ।
कटुवा खेतको त्यो लामो दुवो गाई चर्छ चर्दैन । धन मेरो छैन ज्यान मेरो यही हो मन पर्छ पर्दैन ।
विभिन्न समयसन्दर्भमा भएका नृत्यहरूको पनि उल्लेख गरिएको पाइन्छ । पृथ्वीनारायणको विवाहमा मकवानपुर दरवारमा प्रस्तुत गरिएको गीत, नृत्य र संङ्गीतको त्रिवेणीले विवाह मण्डप र राजभवनमा उपस्थित हुनेहरूको मनको गति नै रोकिदिएको छ, अनि आनन्दले रोमाञ्चित भएका छन् । वरपरको वातावरण र प्रकृति नै कामदीय उन्मेषमा एकाकार भएको प्रतीत हुन्छ । वाद्यवादन घुरेपछि नृत्याङ्गनाहरू मदहोस बन्दै नाच्न तल्लीन देखिन्छन् । विवाहमा बजेका नौमती बाजा र इन्द्रकुमारीलाई भित्र्याउँदाको बाजाहरूको उल्लेखले उपन्यासको शोभा बढाइदिएको पाइन्छ । नुवाकोट विजयपछि बाजागाजासहित सिन्दुर जात्रा गरिएको छ । ठाउँठाउँमा मङ्गलधुन र युद्धबाजाहरूको संकेतले पनि सङ्गीतसंस्कृतिको यथेष्ट उपयोग भएको देखिन्छ ।
प्रकृति चित्रणका दृष्टिले पनि यो उपन्यास महत्वपूर्ण रहेको छ । वाग्मती उपत्यकाको सांस्कृतिक वैभव र प्राकृतिक छटाको वर्णनले उपन्यासको कलात्मक सौन्दर्य अप्रतिहतरूपमा पोखिएको छ । त्यस्तै गोरखा र नुवाकोटको प्राकृतिक छटाको चित्रण र वर्णनले पाठक अह्लादित र रोमाञ्चित बन्दछ । उपन्यासकारले प्राकृतिक सौन्दर्यबाट ‘दिव्य आनन्द’ प्राप्त भएको कुरा हेमकर्णको मुखबाट व्यक्त गरेका छन् ।पृथ्वीको विवाहका वेला मकवानपुरको वासन्ती प्रकृतिको वर्णनमा पुग्दा पाठक प्रकृतिमय बन्न पुग्दछ, आँफैलाई भुल्दछ । नेपालका विभिन्न ठाउँका खोलानाला, पहाडपर्वत, हिमाल, तराई, फाँट खर्क, द्यौराली भन्ज्याङ, आदिको प्राकृतिक सौन्दर्यको वर्णन र चित्रणले उपन्यासलाई रमणीय र आस्वाद्य बनाएको छ ।
इयज्ञ, पूजाआजा, भाकल, आदिको पनि प्रचलन रहेको पाइन्छ । नेपाल एकीकरणको शुभ साइतमा यज्ञ गरेर टीकाटाला र प्रसाद ग्रहण गरी मङ्गलधुनका साथ नेपाल एकीकरणको विजययात्रामा प्रस्थान गरेका छन् । गुरुपुरोहितहरू युद्धमा संगै रहने र धार्मिक यज्ञयज्ञादि कर्म र अभिचार कार्यसमेत गर्ने परम्परा वैदिक कालदेखि नै रहेको देखिन्छ ।बाटामा पर्ने सल्यानकोटकी त्रिपुरा भगवतीको पनि पूजाआजा र दर्शन गरिएकाले पृथ्वीमा दैवी प्रेरणा र शक्तिप्रति ठूलो आस्था रहेको पाइन्छ । नुवाकोटका मन्दिर र गोसाईं कुण्ड र यस वरपरका दर्जनौं कुण्डको समेत नाम उल्लेख गरेको पाइन्छ । राजमाता चन्द्रप्रभावती विशाल नेपाल एकीकृत भएको स्वप्न देख्दै इष्ट देवताहरूको पूजाको व्यवस्था मिलाएकी छन् र ‘नेपाल राष्ट्र नबन्दासम्म विशेष पूजा अर्चना निरन्तर जारी रहनेछ’ भनेकी छन् ।
९ मूल उद्देश्य र सन्देश
प्रस्तुत उपन्यासको मूल उद्देश्य राष्ट्रवाद नै रहेको छ । नेपालमा २००७ सालमा सम्पन्न जनक्रान्तिले आधुनिक युगको ढोका उद्घाटित गरेको हो र अन्धकारयुगबाट स्वतन्त्रता र प्रजातन्त्रको प्रकाशमय युगमानेपाल र नेपाली जनता प्रवेश गरेका हुन् । त्यसपछिका राजनीतिक आन्दोलने आम जनताको जीवनलाई आमूल परिवर्तन गरेका छैनन् मात्र सत्ता परिवर्तन गरेको देखिन्छ ।०६२।०६३ को आन्दोलनपछि गणतन्त्रको स्थापना भयो, त्यसपछि र यसअघि पनि माओवादी हिंसाका बेलामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शालिकहरू तोडिएका थिए । गोरखामा सुरक्षा घेराभित्रैको शालिक तोडियो, नुवाकोटको शालिक ध्वस्त पारियो, पोखराको शालिक पनि ढालियो भने सिंहदरबार अगाडिको नेपाली सेनाको नाकै अगाडिको शालिक पनि फुटाइयो ।राष्ट्रनिर्माताको जन्मजयन्ती घोषणा गरेर मनाउन छाडियो, पुस २७ को बिदा पनि सरकारले कटायो, मानौं पृथ्वीनारायण शाह नेपाल र नेपालीका महान् दुश्मन हुन् कि भन्ने झैं ठानियो । राष्ट्रनिर्माता प्रति राज्यले घोर अन्याय, घृणा, अपमान ग¥यो । मानौं नेपाल एकीकरण गरेर पृथ्वीनारायण शाहले ठूलो भूल गरेका थिए, पापकर्म गरेका थिए ।
यसै सन्दर्भमा एकाथरी नेताहरूलेभाषण गर्न थाले ‘पृथ्वीनारायणले खुनी हमला गरेका थिए, उनी विस्तारवादी थिए, उनी साम्रज्यवादी थिए ।उनले एउटा वर्गको मात्रै पक्षपोषण गरेका थिए, उनले बनाएको नेपाल नेपाली जनताको शोषण गर्ने कारखाना मात्रै थियो, अन्यायको केन्द्र थियो’मानौं नेपाल एकीकरण गरेको हुनाले नेपालको स्वतन्त्र आस्तित्व रह्यो, अंग्रेजको दास बन्नुपरेन, त्यस कारण नेपालीहरू दुःखी भइरहेका छन्, त्यसकारण नेपालीहरू पश्चात्तापमा परिरहेका छन् ।राणाहरूका शालिक टुँडिखेलका वरिपरि मुस्कुराइरहेका छन्, सिंहदरबार कुरिरहेका छन्, सहीसलामत छन् तर पृथ्वीका शालिक तोडिएका छन्,।यस्तो बेथितिले उग्र रूप लिएको बेला, पृथ्वी अपमानित भइरहेका बेला नेपालीहरू सम्मानित हुन सक्दैन थिए, पृथ्वीको बेइज्जत हुँदा नेपालीहरूको इज्जत बढ्न सक्तैनथ्यो, पृथ्वीनारायणलाई अस्वीकार गर्दा नेपाल र नेपालीहरूलाई नै अस्वीकार गरेको हुन्थ्यो । पृथ्वीनारायण अस्वीकृत उनको नेपाल एकीकरणरूप कर्मचाँहि स्वीकृत हुन सक्दैनथ्यो, पृथ्वीनारायण निन्द्य, उनको नेपाल एकीकरण रूप कर्म स्तुत्य हुनै सक्दैनथ्यो, नेपाल एकीकरणको इतिहास तिरस्कृत तर वर्तमान नेपाली गौरवान्वित हुन सक्दैनथे, इतिहास कलङ्कित वर्तमानको हत्या हिंसा प्रशंसित हुन सक्दैनथ्यो । पृथ्वीनारायणलाई घृणा गरेर जातीय राज्य माग्नु भनेको ३०० वर्ष पछाडि फर्किनु थियो, पृथ्वीनारायण शाहले निर्माण गरेको ४ वर्ण ३६ जातको फूलबारीलाई भताभुङ्ग पार्नु थियो । क्रिस्चियन मेसिनरीको पैसा खाएर पृथ्वीनारायणलाई कलङ्कित गर्नु थियो, बदला लिनु थियो किन भने पृथ्वीले पादरीहरूलाई नेपालबाट धपाएका थिए भने १७०० अंग्रेज फौजलाई पृथ्वीका वीर गोर्खाली सेनाले युद्धमा ढालेका थिए ।यिनै कुराको उत्तर खोज्न उपन्यासको रचना भएको देखिन्छ
नेपाल राष्ट्र निर्माणको नायक , एकीकरणको हिरोको अस्तित्व धुमिल भयो भने नेपालीको अस्तित्व पनि धुमिल हुन जानेछ, त्यसैले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको निष्कलङ्कित व्यक्तित्व, नेपाल एकीकरणको उदात्त भावना, हिमालको काखमा एकान्तमा बसेको शान्त देशलाई बलियो बनाउने र अंग्रेजी कुदृष्टि र साम्राज्यबाट सुरक्षित र स्वतन्त्र राख्ने उनको दृढ चाहना देखाउन, वीर पुर्खाको त्याग, तपस्या र ‘बलिदानले बनेको देश’लाई फेरी जातीय विखण्डनमा लान हुँदैन भन्ने कुरा संझाउन र पृथ्वीनारायणको निर्दुष्ट व्यक्तित्व स्थापित गर्न र उनले विशाल नेपाल बनाउने सपना किन देखे भन्ने कुरा देखाउने उद्देश्यले यस उपन्यासको रचना गरिएको देखिन्छ ।
प्रस्तुत उपन्यासको मूल उद्देश्य र सन्देश राष्ट्रप्रेम नै हो, जातीय सद्भाव, र सहिष्णुता प्रदर्शन गर्नुृ हो ।उपन्यास लेखनको उद्देश्य हुन्छ । समालोचक इन्द्रबहादुर राईले उपन्यास सोद्देश्य यात्रा हो,धारणा एवं संवेदनागत आधार यात्राको मार्ग । निर्लक्ष्य बरालिएको उपन्यास अझसम्म छैन । भनेका छन् ।(नेपाली उपन्यासका आधारहरू, पृ.११३)नेपाल एकीरणमा सबै जातजातिको ठूलो भूमिका रहेको थियो, ६ थरघरलाई जोडेर पृथ्वीले नेपालको एकीकरण गरेका थिए, नेपालको एकीकरण युवाहरुले गरेका थिए, २०।२२ वर्षे पृथ्वीनारायणले यसको नेतृत्व समालेका थिए, सबैजसो सैनिक कमाण्डरहरु युवा नै थिए, २०।२२ वर्षे, दलमर्दन शाह त १२ वर्षका थिए, नुवाकोटे उपप्रमुख शंखमणिलाई त उनले नै ढालेका थिए । अतः अवको नेपालको संरक्षण र सुदृढीकरणमा पनि नेपालीतरूणहरुले नै अहंभूमिका खेल्नुपर्छ भन्ने कुरा पनि उपन्यासले सन्देश दिन खोजेको छ ।जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी नै यस उपन्यासको मूल उद्देश्य र सन्देश हो ।साथै यस उपन्यसको अर्को मूल सन्देश भन्नु नै राष्ट्रवन्दना, वीर वन्दना र माटोप्रति ममता व्यक्त गर्नु हो, देशभक्त, राष्ट्रभक्त, वीर योद्धा पृथ्वीनारायण शाहको निर्दुष्ट रणवीर व्यक्तित्व प्रदर्शन गरी राष्ट्रिय एकता, अखण्डता, अविभाज्यता, जातीय एकता र सद्भावको सन्देश प्रवाह गर्नु हो ।
१० उपसंहार
प्रस्तुत उपन्यास पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानलाई लिएर लेखिएको ऐतिहासिक उपन्यास हो । पृथ्वीनारायण शाहको विवाहको प्रसंगबाट उपन्यास शुरू भएर नेपाल एकीकरण र पृथ्वीनारायणको देहान्तसम्म पुगेर टुंगिएको छ । प्रस्तुत उपन्यासकरिव वि.सं १७९३ सालदेखि १८३१ सम्मका नेपाल एकीकरणका अनेक ऐतिहासिक घटनालाई लिएर लेखिएको हो । यसमा कथाको बनोट र बुनोट स्वभाविक छ, ऐतिहासिक आख्यान र कालक्रमलाई यसले आत्मसात् गर्दै ५ खण्ड, १२० परिच्छेद र ३९१ पृष्ठमा यसको बाह्य आकृति खडा भएको छ । यसले ऐतिहासिक विषय र परिवेशलाई राम्ररी झल्काएको छ । संरचनात्मक दृष्टिले उपन्यास सवल र सफल देखिन्छ । उपन्यासले इतिहासको मात्र वर्णन नगरेर धर्म, संस्कृति, वास्तुकला, मूर्तिकला, सङ्गीतकला, दर्शन, प्रकृति, युद्धनीति, कूटनीति, नेपाल एकीकरण र यसको संरक्षण, विकास र विस्तारको सूत्रसमेत प्रदान गरेको छ । उपन्यासले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका निष्कलङ्क, निर्दुष्ट, शालीन, शिष्ट, दूरदर्शी, विशालभावना, उदारचरित्र, र नम्र, दया र दानशील, क्षामशील कर्मवीर र युद्धवीर व्यक्तित्वको परिचय दिएर उनको व्यक्तित्वको सम्मान नेपाल र नेपाली जातिले गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ । भाषाशैलीमा उपन्यासकारको निजत्व झल्किन्छ भने शब्दालङ्कार, अर्थालङ्कार, उखान, टुक्का, सूक्ति आदिको प्रयोगले उपन्यास आस्वाद्य बनेको छ र कलात्मक प्राञ्जल अभिव्यक्ति प्रणालीले गर्दा चमत्कारयुक्त पनि बन्न पुगेको छ । नेपाली साहित्यले उनबाट यस्ता थुप्रै कृतिको अपेक्षा राखेको छ ।

(लेखक सहप्राध्यापक  हुनुहुन्छ)