भोलिसम्म पार्टी एकताबारे निर्णय लिन्छुः प्रचण्ड

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् ।

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उनले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु अहिलेको महत्वपूर्ण विषय भएको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए ।

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

“अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।”