अझै ओबाएनन् बेपत्ता परिवारजनका आँखा

प्रकाशित मिति : : मङ्लबार, असार ५, २०७५

रोल्पा, ५ असार । सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् ।

९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको अनुहार, सेतै फुलेको कपाल, कुप्रो शरीर अझै पनि छोरोको प्रतिक्षामा बाटो हेर्दै दिन गुजार्न बाध्य छ । सहारा गुमाएपछि विवाहित छोरीसँगै बस्दै आएकी पुनले भक्कानिँदै भन्नुभयो “कति हिउँद बिते, कति वर्षात्का समय बिते, कति ऋतु बदलिए तर छोराको माया बदलिएको छैन । पढ्न गएको छोरो पढेर ठूलो मान्छे बनेर फर्कने आश अझै पनि मरेको छैन ।”

उनलेभने, “वर्षौं बितिसक्दा पनि छोरो फर्किएन । छोरासँगै पढ्न गएका उसका साथीहरु कोही मास्टर बनेर फर्किए, कोही लाहुरे बनेर फर्किए, तर छोराको अत्तोपत्तो छैन । मन रुन्छ, रुनुबाहेक मन बुझाउने कुनै उपाय छैन । छोराले पढ्यो भने बुढेशकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि घरबाट पठाएका थियौँ । बिनाकारण बाटोबाटै अपहरण गरी बेपत्ता पारियो, अझैसम्म पनि छोराको अत्तोपत्तो छैन ।”

मेरो छोराले कस्को के बिगारेको थियो र अनाहकमा सजाय पायो रु यौटै प्रश्न दोहो¥याउँदै उहाँ धेरै बेरसम्म भक्कानिनुभयो ।

यस्तै, उमेरले ७० वसन्त पार गरिसकेकी थबाङ गाउँपालिकाकी मैना बुढाले पनि छोराकै आशमा दिन गुजारी रहनुभएको छ । २०५५ साल चैत ९ गते दश वर्षे सशस्त्र युद्धका समयमा गाई बस्तु चराउन गएको १४ वर्षीय छोरा जंगलबाट अपहरणमा परेपछि उनको पनि आजसम्म अत्तोपत्तो छैन ।

बुढेशकालमा जन्मिएको एकमात्र छोरा बाँचुञ्जेल पालोस् मरे पछि चितासम्म पु¥याओस् भन्ने बुढाको सपना थियो तर बीचमै तोडियो । केही वर्षअघि श्रीमान्को पनि निधन भएपछि उहाँपनि छोरीहरुको सहायतामा बस्दै आउनुभएको छ ।

“बिदाका बेला छोराका दौतरीहरु लाहुरबाट घर फर्किन्छन् तर छोरो फर्किदैन । छोरो भएको भए बुहारी हुन्थी, नाति नातिनी हुन्थे घरआँगन कति उज्यालो हुँदो हो । यही सम्झेर रुन्छु रुदाँरुदाँ आँखा बसीसके तर पापी मन मान्दैन” उहाँले डाँको हाल्दै आफ्नो कथा व्यथा सुनाए ।

यस्तै, लुग्री गाउँपालिका रोल्पाका भक्तबहादुर सुनारका छोरा पनि सशस्त्र युद्धका बेला गाउँबाटै अपहरणमा पर्नुभएको थियो । यसरी धन कमाउने उमेरको छोरो अपहरणमा परेर बेपत्ता पारिएपछि सुनार परिवार पनि अझैसम्म विक्षिप्त बनेको छ ।

“हाम्रो छोरो पनि बेपत्ता नपारिएको भए हिजोआज अरुका छोराजस्तै धन कमाएर लाहुरबाट फर्किँदो हो ।” सुनारले भने ।

“म त बाहिर निस्कन्छु, काममा जान्छु, मन बुझाउँछु, उस्की आमा त अझै पनि छोराकै यादमा घरीघरी बेहोस हुन्छे, डाको हालेर रुन्छे उस्लाई सम्हाल्न झन गाह्रो छ । जीउ कमजोर बन्दै गएको छ । छोरो बेपत्ता नपारिएको भए धन कमाउथ्यो होला अरुका छोराजस्तै लाहुरे बनेर घर फर्कन्थ्यो होला भन्छे । सपनीमा पनि बर्बराउछे उस्लाई सम्हाल्न झन गाह्रो छ,” उहाँले भन्नुभयो ।

तर आज उसको यादमा तड्पिनुको पीडा हामीले पो भोगेका छाँै, अरुलाई के थाहा आँशु पुछ्दै सुनारले भन्नुभयो । सुनार परिवारमा पनि ‘आमा।।।’ भन्दै छोरो घर फर्कन्छ कि भन्ने झिनो आशा अझै बाँकी छ ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको तथ्यांकअनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट सातजना र तत्कालीन लिबाङ गाविस हालको रोल्पा नगरपालिकाबाट छजना रहेका छन् ।

आफन्तको जिउँदो मर्दो खबर नपाउँदा अझै पनि बेपत्ता परिवारका सदस्य तड्पीरहेका छन् । रुँदारुँदा उनीहरुका आँखा ओबाएका छैनन् । एकातिर परिवारमा बेपत्ता पारिएको व्यक्ति घर फर्किहाल्छ कि भन्ने झिनो आशा छ भने अर्कोतिर लाश मात्र देख्न पाए पनि मन बुझाउन सकिने उनीहरुको भनाइ छ ।
–––