‘स्ववियू टेक्निकल फेस्टिवल’को तयारी तीव्र

प्रकाशित मिति : : शनिबार, असार ३०, २०७५

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पस लामाचौरको आयोजनामा हुन लागेको राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको तयारी तिव्र पारिएको छ । आगामी साउन ३ गतेदेखि ५ गतेसम्म क्याम्पस परिसरमा हुन लागेको फेस्टिवलको तयारी तिव्र पारिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ भेक्टरः डाइरेक्ट योर भिजन नाम दिएर फेस्टिवल आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने फेस्टिवलमा प्रविधिका क्षेत्रका नयाँ आविष्कार लगायत प्रविधिसँग सम्बन्धित विषयबस्तु प्रदर्शन गरिनुका साथै ईञ्जिनियरिङ विद्याका विभिन्न प्रस्तुति देखाइने स्ववियु सभापति इन्द्र पौडेलले बताए । ‘यस फेस्टिवलको मुख्य उद्देश्य विद्यार्थीले आर्जन गरेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरी नेपालको ईञ्जिनियरिङ शिक्षालाई समयानुकूल परिवर्तन र व्यवहारिक बनाउनु नै हो ।’ उनले भने – ‘विद्यार्थीको इनोभेसनलाई सिधै बजारसम्म पु¥याउने लक्ष्य हाम्रो हो । सबैको साथको अपेक्षा गरेका छौं ।’

फेस्टिवलमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट प्रस्तुत गरिने संयोजक किरण तिवारीले जानकारी दिए । यस्तै इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम पनि समावेस गरिएको संयोजक तिवारीले जनाए ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहने आयोजकले जनाएको छ ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवल सम्पन्न गर्न करिव २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने संयोजक तिवारीले बताए । नेपालका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट सहभागिता रहने आयोजकले जनाएको छ ।

फेस्टिवलको सह प्रायोजकका रुपमा बिग एफएम रहेको छ भने पोखरा महानगरपालिका, गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका छन् ।

क्याम्पस प्रमुख सहप्राध्यापक ई. रामप्रसाद पौडेलले विद्यार्थीकै अग्रसरतामा राष्ट्रिय स्तरको यस्तो फेस्टिवल हुनु अत्यन्त सुखद् पक्ष रहेको बताए । उनले क्याम्पस प्रशासनले नजिकबाट रहेर साथ मात्र दिएको उल्लेख गर्दै विद्यार्थीलाई नै नेतृत्वमा सबल बनाउन सबै जिम्मेवारी विद्यार्थीलाई नै सुम्पिएको बताए ।