दुई जना उभिएकै भरमा संसद अवरुद्ध हुदैन : प्रधानमन्त्री अाेली

प्रकाशित मिति : : शनिबार, असार ३०, २०७५

काठमाडाैँ,असार ३० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । हिजाे शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका ३ नं प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“एउटा निहुँ झिकेर दुईजना संसद ठिंग उभिंदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन” प्रधानमन्त्री ओलीले भने “नेपाली कांग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।”

प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । “हामी दुईतिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्रीओलीले भने ।  सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए ।

“साउनभित्र पार्टीएकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीयतहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्” प्रधानमन्त्री ओलीले भने “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।”   सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए ।