अध्यादेश बमोजिक विद्येयक आएमात्रै डाक्टर केसीको अनशन तोडिन्छ : बरिष्ठ अधिवक्ता

प्रकाशित मिति : : सोमवार, असार ३२, २०७५

काठमाडौं, ३२ असार  । हिजो आएकोजस्तो अध्यादेश ऐन वा विद्येयकको रुपमा आएमात्रै डाक्टर गोविन्द केसीले अनशन तोड्ने नभए नतोड्ने स्पष्ट पारेका छन् । उनले भने,‘हिजो आएको अध्यादेश अनुसार ऐन वा विद्येयकको रुपमा आयो भने डाक्टर केसीको आन्दोलन निश्कर्षमा पुग्छ ।’

केसीको अनशनको आज १७ औं दिन पुगेको बताउँदै उनको स्वास्थ्य अवस्था दिनप्रति दिन चिन्ताजनक बन्दै गैरहेको पनि जनाए । उनले भने,‘यो सरकारले डाक्टर केसीलाई जुम्लाबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउने रणनीति बनाएको थियो, कुनै ठोस सहमति नभईकन उहाँले अहिले अनशन तोड्ने कुनै संभावना छैन् ।’

आफूहरुको तर्फबाट यसअघि नै सरकारसँग वार्तामा बस्नको लागि टोली गठन भैसकेको पनि उनले जनाए । उनले भने,‘हाम्रो तर्फबाट ओमप्रकाश अर्याल, डाक्टर अभिषेकप्रताप सिंह र नेपाल चिकित्सक संघका प्रतिनिधि रहनेगरि वार्ता टोली गठन भैसकेको छ, हामी कुनैपनि बेला सरकारसँग वार्ता गर्न तयार छौं, वार्ता गर्नको लागि डाक्टर केसी चाहिँदैन, हाम्रो प्रतिनिधिहरु तयारी अवस्थामा छन्।’ तार्किक निश्कर्ष निस्किनेगरि वार्ता बस्नुपर्ने उनको भनाई छ ।

डाक्टर केसीले १४ औं पटकसम्म अनशन बसेर यसअघिका सरकारहरुसँग गरेको सहमतिको आधारमा अध्यादेश आएकोले यसलाई तोडमोड गरेर ल्याउन जरुरी नरहेको पनि उनको भनाई छ । उनले भने,‘ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदापनि डाक्टर केसीको माग सम्बोधन गर्न सहमति भैसकेको थियो, त्यही सहमति अनुसार कानून ल्याउने भनिएको थियो, अहिले आएर तोडमोड गर्न पाईँदैन्।’

डाक्टर गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक रहेको जनाए । उनले भने,‘हरेक मिनेट उहाँको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ, डाक्टर केसीले त कम्युनिष्टहरुको मागलाई नै बोकेर हिँड्नुभएको छ।’
उनले आज बेलुकासम्म सरकारसँग पहिलो चरणमा आफूहरुको वार्ता हुने संभावना समेत सुनाए ।