गोविन्द केसी गगन थापाका कार्यकर्ता हुन् : केशब बडाल

प्रकाशित मिति : : सोमवार, असार ३२, २०७५

काठमाडौं, ३२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले डाक्टर गोविन्द नेपाली कांग्रेसको कार्यकर्ता भएको बताएका छन् ।

सोमबार रिपोर्टस नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर कांग्रेस र समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा गरेनन भनेर बडालले प्रश्न गरे । उनले भने,‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन् ?।’ मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उनले डाक्टर धर्मकान्त बाँस्कोटाजस्तो सम्मानित र ईमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाए । उनले भने,‘डाक्टर बाँस्कोटामात्रै होईन, भगवान कोइरालालाइ पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो।’

नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप लगाए । उनले भने,‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माँग्नुभयो ?, त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन्।’

६० लाख मानिस काठमाडौंमा बस्ने भएकोले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्नै हुँदैन भन्नु काठमाडौंका जनताविरुद्ध अपराध गरेको उनको गुनासो छ । उनले भने,‘संविधानको भावना विपरितको अभिव्यक्ति हो, कोही अनशन बसेर सडकबाट काठमाडौंमा मेडिकल कलेज खोल्न पाईँदैन भन्नु दयनीय दृष्टिकोणमात्रै हो।’