मन्त्रीले भर्ना गरेका बालबालिका नै विद्यालय गएनन्

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

काठमाडाैँ,साउन १ ।  नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन ।

उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । तर, अहिले उनी तीन बालबालिकाको मात्रै अभिभावकत्व लिएको दाबी गर्छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका–५ परती टोलकी पाँच वर्षीया राधिका दासलाई मुख्यमन्त्री राउतले बिर्सिएका छन् ।

नयाँ पत्रिका दैनिकमा आज मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय नगएको खबर छ ।