डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मा लिनुपर्छ : केशब बडाल

प्रकाशित मिति : : बिहिबार, साउन ३, २०७५

काठमाण्डौ,साउन ३ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै बडालले केसीको मागका विषयमा छलफल गर्न कार्यदल बनाएको स्मरण गराउँदै केसीको जीवनसँग खेलवाड नगर्ने पक्षमा सरकार रहेको बताए ।

“राज्यले केसीको जीवन रक्षाको निम्ती गर्नुपर्ने सबै कामहरु अगाडि बढाउने तयारी गरेको छ । तर डा.केसीलाई विभिन्न तत्वहरुले घेरावन्दीमा राखेका छन् । जुन घेराबन्दीबाट उहाँ निस्कनै सक्नुहुन्न ।” बडालले भने ।

कांग्रेसका नेताहरुले केसीलाई उक्साएर अनशन बसाएको बडालको आरोप छ । “केसीलाई वार्तामा नबस्न उक्साउनेहरुले ने उहाँको जीवनमा केही तलमाथि भए त्यसको जिम्मेवारी लिनुपर्छ । केसीलाई अगाडि सारेर कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न खोजेको छ ।” बडालले भने ।

सरकारले गठन गरेको कार्यदलसँग केसीले वार्ता गर्दिन भन्नु समस्या बढाउनु भएको बडालको जिकिर छ ।