अब ३५ मिनेटमै नारायणगढबाट मुग्लिन

प्रकाशित मिति : : आइतवार, साउन १३, २०७५

काठमाडाैँ, साउन १३ ।  ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५) मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

३५ मिनेटमा नारायणगढबाट मुग्लिन

यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘यो एसियाली राजमार्गको मापदण्डअनुरूप डबल लेन सडकमा स्तरोन्नति भएको छ,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने ।

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो । नयाँ पत्रिकाबाट