ओलीले नबनाए यो देश अरु कसैले बनाऊन सक्दैन, ओलीलाई ५ बर्ष काम गर्न देउ :भद्रकुमारी घले (भिडियो सहित)

प्रकाशित मिति : : आइतवार, साउन २०, २०७५

काठमाण्डौ । पंचायती व्यबस्थाको शुरुवातदेखि पंचायतको उत्कर्ष र अवसानको साक्षी हुन्- सुश्री भद्रकुमारी घले । जुद्ध शमशेरकी छोरी कमल राणालाई समेत माननीयको चुनावमा पराजित गरेर पंचायती ब्यबस्थामा चार चार पटक माननीय भएकी उनी सूर्यबहादुर थापाको मन्त्रीमंडलमा श्रम तथा समाज कल्याण राज्यमन्त्री समेत भएकी थिईन । राज्यसभा स्थायी समितिकी सदस्य समेत भएकी घले तत्कालीन राजनीतिमा एक चर्चित नाम हुन्. २०४६ सालपछि राजनीतिलाई चटक्कै छाडेर समाज सेवा र साहित्यतर्फ डोरिएकी उनी आजपर्यन्त यही बाटोमा हिडिरहेकी छिन ।

आफ्नै नामको सामाजिक संस्था खोलेर उनी समाजसेवा र शिक्षाको क्षेत्रमा सेवारत छिनभने आफूलाई साहित्य नआउने र छन्द लेख्नेहरुको भीडमा आफू बेछन्दे भन्न रुचाउने घले नेपाली साहित्यकको फाँटमा साहित्यका विविध विधामा उनका १४० थान कृतिहरु प्रकाशित भैसकेका छन् । उनले स्थापना गरेका पुस्तकालय र संग्रहलाय्हरु हेर्न लायकका छन् ।

आजीवन अविवाहित रहे तापनि त्यसमा र आफूले भोगिरहेको जीवनमा रत्तिभर पनि असन्तुष्टि नरहेको बताउने घले अहिले पनि मैतीदेवीस्थित आफ्नो घरमा थुप्रैलाई आश्रय दिएर बसिरहेकी छिन । आफ्नै इच्छा र बलबुतामा त्यो बेलाको समयमा भारतसम्म पुगेर शिक्षा हासिल गर्नु चानचुने काम थिएन । शैक्षिक डिग्रीको हिसाबले घलेले शास्त्रीसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन। तर यिनले आफ्नो जागिरे जीवन एउटी नर्सको रुपमा सुरु गरेकी थिईन । जनकपुर अंचल अस्पतालमा नर्सको रुपमा कार्यरत रहेकै बेलामा उनी पंचायती राजनीतिमा महिला संगठनको अंचल सभापतिको रुपमा रातारात पदार्पर्ण गरेकी हुन् ।

जनकपुर अंचल अस्पतालमा नर्सको रुपमा कार्यरत त्यो बेलालाई समरण गर्दै स्वदेश नेपालका प्रधानसम्पादक इन्द्रकुमार श्रेष्ठ सरितसंग कुरा गर्दै उनी भन्छिन – त्यो बेलामा मैले टेबल र कुर्सि जोहो गरेर जनकपुर अंचल अस्पतालको सुरुवात गरेकी हुँ जहाँ मैले नर्सको रुपमा तीन बर्ष काम गरेकी थिएँ । त्यो बेलामा नर्सलाई खासै राम्रो दृष्टिले हेरिन्नथ्यो ।

अहिलेको स्थितिमा म अति खुशी छु, भगवानले दिएको यो स्थितिप्रति म सन्तुष्ट छु । म आनन्दले बस्छु । सुत्न मन लागे सुत्छु, उठ्न मन लागे उठ्छु, लेख्न मन लागे लेख्छु कुनै बन्धन छैन ।

जानेर होस् वा नजानेर होस् यो गणतन्त्रको बाटो अपनाएपछि अब हामीले यसैमा विकास गर्नुपर्छ । अब अर्को बाटो के खोज्न जाने ? कहाँ खोज्न जाने ? एमाले र माओबादीलाई म किन आदर गर्छु, किन सत्कार गर्छुभने यो देशका आदिबासी, जनजाति, पिछडिएका जातिहरु जो छन् यिनलाई चिम्टा लगाएर आँखा उघारेर जागृतिमा ल्याएर आफ्नो पहिचान खोज्ने कसैले बनायो भने त्यही माओबादीले बनायो । दश बर्षे रक्तक्रान्ति गरेर सबैलाई जागृत गरे त्यो नै ठूलो उपलब्धी हो ।

देश विदेश जानुपर्ने रहेछ, कामाउनु पर्ने रहेछ, परिवारलाई यो ढंगले पाल्नु पर्ने रहेछ भनेर सिकाएको नै उनीहरुले नै हो. उनीहरुको कमाइले परिवार पालिरहेको मात्रै हैन रेमिट्यान्स मार्फत राष्ट्र संचालन गरिरहेका छन् । चाहे मलाई सिन्धुलीबाट लखेटेको किन नहोस, काठमाडौँ आउन बाध्य बनाएको किन नहोस, आज म उनीहरुलाई आशिर्बाद दिईरहेकी छु । उनीहरुले मलाई काठमाडौँ आउन बाध्य नबनाएको भए मैले यत्तिको समाजसेवा गर्न नि पाउन्न थिएँ होला, १४० वटा किताब पनि लेख्न पाउन्न थिएँ होला ।

चुनावताका ओलीजीले जनतालाई दिएको आश्वाशन उहाँलाई जनताले पूरा गर्न दिनु परेन ? पूरा गर्न दिए न गर्ने हो ? देश बनाउने युवाहरुले त प्रधानमन्त्री सामुं गएर भन्नु पर्यो ल भन्नुस देश बनाउन हामीलाई के काम दिनु हुन्छ भनेर । कमसे कम सरकारलाई पांच बर्ष त काम गर्न दिनु पर्यो नि । देश बनाउनु भनेको दालभात, तरकारी पकाएजस्तो हो र ? दालभात पकाउन त् दुई घण्टा तीन घण्टा लाग्छभने चुट्कीको भरमा देश बन्छ ? सरकारलाई काम गर्ने दिईएको छैन, नत्र ओलीजीले देश बनाएर देखाई दिनु हुन्छ । मलाई पूरा विश्वाश छ, त्यत्ति गरेनन भने ती नेता नै हैनन् । हैनभने तिनले चौध बर्ष जेल बसेको त धिक्कार हुन्छ । यदि यिनले पनि गरेर देखाउनु सकेनन भने यो देश बन्दैन ।

-स्वदेशनेपालबाट