नेपाल फर्किएलगत्तै कप्तान पारसले दिए यस्तो प्रतिक्रिया !

प्रकाशित मिति : : सोमवार, साउन २१, २०७५

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।

नेपाली टिमका कप्तान पारस खड्काले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको बताए ।

उनले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए । ‘पहिलो ओडीआई ऐतिहासिक भयो,’ उनले भने, ‘आगामी दिनमा नेपालले धेरै म्याच खेल्नेछ । आफ्नो देशको लागि खेल्दा हरेकपल्ट देशलाई जिताउने प्रयास भइरहेको हुन्छ । तर खेलमा कहिले जित र कहिले हार त अवश्य हुन्छ ।’

उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।

‘महत्वपूर्ण खेलमा जित हासिल गर्यौं । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा हामी चुक्न पुगेका थियौं । यहि महिनामा एसिया कपको छनोट खेल हुँदैछ । अब हाम्रो ध्यान त्यता केन्द्रित हुनेछ,’ कप्तान पारसले भने ।