विदेशी संस्था र विदेशी व्यक्तिबाट पैसा लिएको कसैले प्रमाण पेश गर्छ भने, ‘विवेकशील’ पार्टी नै बन्द गर्छौं’ : किशोर थापा

प्रकाशित मिति : : मङ्लबार, साउन २२, २०७५

काठमाडाैँ, साउन २२ । शनिवार विवेकशील साझा पार्टीको प्रदेश ३ का जिल्ला संयोजकहरुको घोषणा कार्यक्रममा पार्टीमा असन्तुस्ट रहेका भनिएका केहि युवाहरुको अवरोधको कारणले उक्त कार्यक्रममा केहिबेर तनावको स्थिती सिर्जना भएको थियो।

विवेकशील साझाले शनिवारको घटनामा घुसपैठ भएको आशंका पनि गरेको छ।पार्टीकै सदस्यबाट उक्त घटना भएको हो वा घुसपैठ भएको हो भन्नेमा छानबिन गरिने पार्टीले जनाएको छ।

अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुराकानी गर्दै विवेकशील साझाका नेता किशोर थापाले भने-‘राजनीतिक पार्टीमा विरोधका आवाज आउनु,असन्तुस्टि राख्नु कुनै नौलो कुरा होइन,विवेकशील साझा पार्टी जस्तो लोकतान्त्रिक पार्टीले विरोधको स्वरहरुलाई जहिल्यै पनि कदर र सम्मान गर्छ।तर यसमा अराजक र उदण्ड हुने,अनुशासनहीन हुने छुट कुनै पनि सदस्यलाई छैन।’

‘शनिवारको कार्यक्रममा जुन अनुशासनहीन कार्यक्रम भयो त्यसको छानविन हुँदैछ।असन्तुष्टहरुको आवाज सुन्दासुन्दै पनि,विरोधका आवाज मंचबाट सुन्दासुन्दै पनि त्यहाँ केहि उदण्ड र अनुशासनहीन काम भयो’,थापाले भने।

पार्टीमा आफ्ना असन्तुष्टि राख्ने विभिन्न ठाउँ हुँदाहुदै अनुशासनहिन काम गर्नेमाथि छानविन गरेर कारबाही हुने थापाको भनाई छ।

‘विवेकशील साझा पार्टीले विदेशी राष्ट्र,विदेशी संस्था र विदेशी व्यक्तिबाट कुनै किसिमको आर्थिक सहयोग लिदैन। यदि विदेशीको पैसा लिएको कसैले प्रमाण पेश गर्छ भने पार्टी नै बन्द गर्छौं’, थापाले दाबी गर्दे भने ।