गृहमन्त्रीको काम अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो : गृहमन्त्री ‘बादल’

प्रकाशित मिति : : शुक्रबार, साउन २५, २०७५

काठमाडाैँ,साउन २५ । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा ‘विप्लव’ समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्रीले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’

प्रकाण्ड अपराधी हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि ? भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रणमा लिने क्रममा यस्ता घटना हुन्छन् ।’