सन्न्यासको तयारीमा मेसी !

प्रकाशित मिति : : शुक्रबार, साउन २५, २०७५

काठमाडाैँ,साउन २५ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्न्यास लिने सोच बनाएका थिए। सन्यासलाई गोप्य नै राख्न चाहेका मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएको समाचार अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रकाशित गरेका हुन्।

विश्वकपलगत्तै टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले राजीनामा दिएपछि स्कालोनीले अर्जेन्टिनी टोली सम्हाल्दै आएका छन्। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने वा नलिने भन्ने बारेमा छिट्टै टुंगो लाग्ने प्रशिक्षक स्कालोलीले बताएका छन्। मेसीले अर्जेन्टिनी फुटबल महासंघसँग छलफल गरेपछि मात्र सन्न्यासको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने समाचारमा उल्लेख छ।