भात खाने बाटो – जनयुद्धको उपज

प्रकाशित मिति : : आइतवार, साउन २७, २०७५

                                                           ए छोकृ अच्छे से काम कर्ले, बर्ना सामका खाना नहि मिलेगा !

काठमाडौ , २७ साउन । झ्याप्प हेर्दा कुनै तामिल फिल्मको खलनायक जस्ता देखिने एकजना अधबैंसे मान्छे बैजयन्ती भए तिर हेरेर झर्कदै थिए । मुखमा पानको बुझो च्यापेकाले उसको आवाज निकै भद्दा सुन्निरहेको थियो । त्यस मान्छेको व्यत्तित्व देखेर आसपासका सबै आजित देखिन्थे ।

उसको न त लुगा लगाउने ढंग थियो न त बोल्ने ढंग नै । त्यस मानिसको आवाज कानमा प्रवेश गर्न नपाउदै बैजयन्ती सतर्क भई आफ्नो हात्मा भएको हतौडाले नजिकमा रहेको ढुङ्गा फुटाउदै निश्चिति आकारमा छेउमा जम्मा गर्न थालिन् । त्यस मानिसको आवाज सुनेर बैजयन्ती कति पनी डराइनन् । उनी त्यसैमा अभ्यस्त भैसकेकी थिईन् ।

आफ्नै सुरमा काम गरिरहेका श्रमिकलाई धम्काउने र थर्काउने उसको नित्यकर्म नै थियो । उसलाई काम गरिरहेका मान्छेलाई अनायासै थर्काउने बानी परिसकेको थियो । उ आफुलाई ती श्रमिकहरुको मसिहा ठान्दथ्यो । उसले तिनीहरुलाई काम दिएन भने तिनीहरुको भात खाने बाटो नै टुट्छ भन्ने उसको बुझाई थियो ।

सबै कामदार उ बाट निकै परेसान थिए । भ्यात्त बाहिर निक्लेको भुडीले उसको अजङको शरीरलाई थप कुरुप बनाईरहेको थियो । उसको कपालमा चुहिनेगरी तेल लगाएर बिचमा केश पारेर कोरिएका हुन्थे । ती कपलका छनक देख्दा असिको दशक तिरका पदामा हिरोको अगिपछी लाग्ने आसेपासेको आभाष हुन्थ्यो । मुखमा रहेको पानको बुझोले उसको दन्तपङ्ती सेतो दात नभई रातो माटोले लिपिएको पर्खाल जस्तो मात्रै लाग्थ्यो । उ नजिक आएको र बोलेको कसैले मनपराउदैनथे । तर के गर्नु, विवश भएर उसैकोमा काम गर्न जानू पर्थ्यो ।
उसको खास नाम के थियो कसैलाई थाहा थिएन ।

केहिले उसको नाम नट्टुलाल नामकरण गरिदिएका थिए । उसको अनुपस्थितमा सबै उसलाई त्यही नामले चिन्दथे । उ भने त्यस नामले बोलाउँदा रिसाउँथ्यो तर नट्टु जि भनेर सम्बोधन गर्दा खुसी हुन्थ्यो ।

दिनको दुईतीन पटकसम्म उ कामदारको निरिक्षण गर्न आइपुग्थ्यो । उ कालो ललाट घाममा टल्काउदै आउँदा सबै सतर्क भएर आफ्नो काममा तल्लीन हुन्थे । गफमा भुलिरहेका भएपनि हतार हतार गिट्टी कुटिरहेझै गर्थे । उ आएर महिला र स्त्रीहरु भएको ठाउँमा  केहिबेर रोकिन्थ्यो र भन्थ्यो, “धिरे धिरे करो ना, काई को जल्दी हे ? अप्नि ख्याल बि कर्लिया करो ना । तुम सब तो मेरि बेहेन और बेटि जेसी हो । मे औरतकि बहुद ईज्जत् कर्ता हुँ ।” उसले यसो भनिरँहदा ती महिलाहरु प्रती कत्तिपनी ईज्जत् झल्कदैनथ्यो । उ त तिनीहरु सङ नजिक हुने बहाना खोजिरहेको मात्र हुन्थ्यो ।

महिला र स्त्रीहरु उ नजिक आएपछि नाक खुम्च्याउदै उसको शरीर बाट आएको गन्ध छल्ने प्रयास गर्थे । मुखमा कहिलेइ नटुट्ने पान र सुर्ती, कापालमा चुहिनेगरी लगाएको तेल र उसको शरीर बाट आएको गन्धको समिश्रणले उसको नजिकका निकै दिक्क मान्थे ।

बैजयन्ती नेपाली पनि त्यहीँ गिट्टी कुट्ने काम गर्थिन । गण्डकी नदिको बगरमा रहेका ढुङ्गाहरु फुटाउदै ससाना आकारमा ढालेर गिट्टी बनाईरहेकी हुन्थी । त्यहीँ गिट्टी कुटेर उनी लगायत अरु केही महिला र अधबैंसे पुरुषहरू बिहान बेलुकाको खाना जोहो गर्थे ।

देश जनयुद्धले तनावग्रस्त थियो । गाउँभरिका युवाहरूलाई माओवादीले डर देखाएर आफ्नो सेनामा भर्ती गराएका थिए । केही युवाहरू ठुला ठुला आश बोकेर जनयुद्धमा होमिएका थिए ।

माओवादीको लक्ष्य केन्द्र कब्जा गर्नु थियो । कमान्डर भनिरहेको हुन्थ्यो, “कमरेडहरु अब हामी कुनैपनी हालतमा पछि हट्ने छैनौ, हामी सत्ता र केन्द्र दुबै कब्जा गरेरै छाड्नेछौ, निकट भबिष्यमा त्यो सबै हाम्रो हुनेछ ।” कमान्डरको कुराले केहिमा तिब्र अभिलाषा पनि छाएको थियो ।

बैजयन्ति निकै मेहेनती थिइन् । उनी आफ्नो काममा निकै तल्लीन भएर लागिरहेकी हुन्थीन् । उनलाई न त झरिले रोक्न सक्थ्यो न त घामले नै । समयको बेग सङै अगाडि बढिरहेको दुनियाँसङ उनलाई कुनै चासो थिएन । चासो थियो त केबल आफ्नो मजदुरिको । नजिकको मुर्दाघाट बाट आइरहेको धुवाँको मुस्लो उनी काम गरिरहेको ठाउँ नजिक आएर उनलाई बाधा पुर्याउने प्रयत्न गर्थ्यो ।

तर पनि उनी एकसुरले आफ्नो काम गरिरहन्थिइन् ।  लास जलाएर मलामिहरु घर फर्किए पछि बैजयन्ती लास पोल्ने स्थानमा कोइला र बचेका दाउराहरु संकलन गर्न जान्थिन् । तिनै दाउरा र कोईलाले उनी बेलुकाको खाना बनाउथिन् । कुनै दिन लास जलाउनका लागि आएन भने उनलाई खिन्न लाग्थ्यो । ति दिनहरुमा उनी भोकै सुत्नुपर्ने हुन्थ्यो ।

जङ्गलमा गएर दाउरा काट्ने सामर्थ्य उनमा थिएन । जङ्गलभरी माओवादीको बिगबिगी थियो । फेरि जङ्गलमा चहार्दै गर्दा छापामार युवती भनेर आर्मीको फन्दामा पनि त पर्न सक्थिन् । त्यसैले पनि मुर्दाघाटको दाउरा र कोईलाहरु उनको भात खाने बाटो बनेको थियो ।

उनको बाबु को थिए स्वयं उनकि आमालाई पनि थाहा थिएन । उनकी आमालाई उनको अनुहार कहिले गाउँको मुखिया सङ मिल्दोजुल्दो लाग्थ्यो, कहिले हवल्दार सङ मिल्दोजुल्दो लाग्थ्यो, कहिले गाउँको सचिब सङ मिल्दोजुल्दो लाग्थ्यो, कहिले स्कुलका हेड्मास्टर सङ मिल्दोजुल्दो लाग्थ्यो त कहिले नट्टुलाल सङ पनि मिल्दोजुल्दो लाग्थ्यो । उनी तिनीहरु मध्य जोसुकैलाई भेट्थिन् हरेकमा बैजयन्तीको बाबुको सुगन्ध पाउथिन् ।

उनलाई आफ्नो छोरीको अनुहार तिनीहरुमा प्रतिबिम्बित हुन्थ्यो । यो कुरा बारे उनी सधैं अनबिज्ञ भैरहिन्, ती मध्य कुन चाहिँ हुन् बैजयन्तीको बाबु ।

गाउँभरि त्यस्ता कयौं बैजयन्तीहरु थिए जसका आधिकारिक बाबु थिएनन् । माथी उल्लिखित मध्य कुनै एक हुन्थे तिनका पिता तर ठ्याक्कै कुन चाहिँ भन्ने निक्र्योल कसैमा हुदैनथ्यो । कुनै पिताहरु धेरै बैजयन्तीहरु उत्पादन गर्नमा सघाउथे तर त्यस्को श्रेय लिन कोहि तयार हुदैनथे ।

बैजयन्तीकि आमा केही बर्ष अघि जनयुद्धमा होमिएकी थिईन् । माओवादीले हरेक घरबाट एकजना आफ्नो सेनामा भर्ती हुनुपर्ने बिगुल फुकेपछी उनिनै लागेकी थिईन् । आसपासकै गाँउहरुमा सेल्टर पर्दा उनी बिस्कुट, चाउचाउ र अन्य केही समानहरु बोकेर बैजयन्तीलाई भेट्न आईरहन्थिन्  । बैजन्ती पनि आफ्नो आमालाई देखेर निकै हर्षित र पुलकित हुन्थिन् ।

पछिपछिका दिनहरूमा उनी बन्दुक भिरेरै छोरिलाई भेट्न आउन थालिन् । अब भने उनि साँच्चिकै लडाकु भएकी थिइन् । उनले पाईला पाईलामा सुरक्षा अप्नाउनुपर्ने थियो नत्र तलमाथि जे पनि हुन सक्थ्यो । छोरि सामु त्यसरी बन्दुक भिरेर प्रकट हुने मन उनलाई कत्तिपनी थिएन तर कमान्डरको आदेश अनुरुप उनी त्यसो गर्न बाध्य थिईन् । बन्दुक भिर्ने भएपछि उनी बिरलै छोरिलाई भेट्न आउने गर्थिन् । महिनामा बढिमा एकचोटी पनि बल्ल बल्ल आउने मौका मिल्थ्यो । घर आएको बेलामा उनी छोरीलाई भन्थिन्, “नानी अब हाम्रो युद्ध सफल भएपछि अध्यक्ष कमरेडले हामीलाई काठमाडौं बस्ने र जागिरको ब्यबस्था मिलाईदिनुहुनेछ ।”

बिचरी बैजयन्ती ! उसले के बुझ्ली र युद्धका बारेम ।
उनलाई अध्यक्ष कमरेड भनेका को हुन, के हुन , के मतलब ।

किशोरी अवस्थामा भर्खर प्रवेश गरेकी बैजयन्ती प्रत्येक दिन त्यही खोला छेउ गिट्टी कुट्नमा व्यस्त देखिन्थिन् । जनयुद्ध सुरु हुनुभन्दा पहिले उनले गाउँकै स्कुलमा कखरा चिन्न र लेख्न सम्म भ्याएकी थिइन्। पछि माओवादीलेनै त्यस स्कुल बमले छिन्नभिन्न पारेका थिए । उनीहरु भन्थे, आर्मिले त्यहाँ सुराकी परिचालन गरेका थिए ।

गिट्टी कुट्दै गर्दा कयौं पल्ट गिट्टी सङै उनको हातका कलिला औंला पनि थिचिएका थिए । औंलाहरुमा कपडाको टालो बेरिएका थिए । ती कपडाका टालो रगत र गुम्सिएका पिप ले लत्पतिएका थिए । झिंगा र भुसुनाहरु उनको वरिपरि सलबलाईरहेका हुन्थे । प्रायःजसो एउटै कपडामा सजिएकी हुन्थी उनी ।  भरियाहरु साहुको काम सकेर नाम्लो हातमा लिएर गाउँतिर उकलदै गरेको देखेपछि उनिपनी आफ्नो काम सकेर घरतिर फर्किने सुरसारमा लाग्थिन् । बेलुका घरतिर फर्कदै गर्दा मुर्दाघाटबाट संकलन गरेको दाउरा र कोइलाको भारी टाउकोमा लगाउदै अगाडि लाग्थिन् ।

माओवादीमा लाग्नेहरु निकै होनहार र त्यागी थिए त्यसैले त सारा घर परिवार त्यागेर दृढ़ रुपमा युद्धमा होमिएका थिए । तिनीहरु युद्धलाई एउटा निश्चिति बिन्दुमा पुर्याउन लागिपरेका थिए । रेडियो, पत्रपत्रिका, टेलिभिजन सबैले माओवादीले फलानो प्रहरी पोस्ट पड्कायो, फलानो आर्मी ब्यारेक आक्रमण गर्यो, फलानो ठाउँमा यात्रुबाहक गाडीलाई यम्बुसमा पार्यो जस्ता समाचार मात्रै सम्प्रेषण गरिरहेका थिए । ती समाचारले आम जनमानसमा झन भय फैलाउने काम गरिरहेको थिए । लाग्थ्यो ती मिडियाहरु पनि माओवादीको त्राशले सो गरिरहेका थिए । तर ती समाचारहरुले माओवादीलाई थप उर्जा दिइरहेको थियो भने आम जनतालाई थप काँतर बनाईरहेको थियो । त्यस समय माओवादीको युद्ध भन्दा पनि तिनीहरु बारे समाचार उत्कर्समा थियो ।

गाउँ पनि हुँदाहुँदै सुनसान जस्तै भएको थियो । गाउँका सबैजसो युवायुवती र जवानहरु जनयुद्धमा होमिएका थिए । कोहि बाध्यताले त कोहि रहरले । अलिअलिमा डर पनि थियो । माओवादी वा आर्मी, पुलिस जोसुकैले चाहेको खण्डमा अपहरणमा पार्न सक्थे । माओवादी युद्धको ढाँचा हेर्दा न त कुनै रास्ट्रभत्ती झल्किन्थ्यो न त कुनै खास परियोजनका लागि गरिरहे झैं लाग्थ्यो । भन्न त उनिहरु भनिरहेका हुन्थे, यस जनयुद्धले आम जनताको अधिकार सुनिश्चित गर्ने छ र सबै देश बासीलाई नया बिहानी दिनेछ ।

समयको बेग सङै बैजयन्ती पनि किशोरी अवस्थाको मध्यकाल तिर पुगिन् । उनकी आमा भने उनलाई भेट्न आउनै छोडिन् । दिन, हप्ता, महिना गर्दै कयौं दिन बितिसक्दा पनि उनकि आमा उनलाई भेट्नै आईनन् । गाउँलेहरु लख काट्थे, “कसैलाई मार्न हिँडेका स्वयं आफ्नो ज्यानको बाजी थापेर हिँडेका हुन्छन् । के भर !”

बैजयन्तीलाई भने आमा फर्किएर आफुलाई भेट्न आउने पूरा बिश्वास थियो । आमा फर्किएर आउने र अध्यक्ष कमरेडले काठमाडौंमा मिलाइदिएको घरमा बस्ने आशामा उनको दिनहरू बितिरहेका हुन्थे ।

एकदिन नट्टुलाल हस्याङ फस्याङ गर्दै बैजयन्ती काम गरिरहेको नजिक आएर निकै भयभीत आवाजमा भन्न थाल्यो, “बैजयन्ती बिटिया आज तु घर चलि जा । सुनाहे कि तेरि माँ का खबर लेके कोहि आया हे ।”

आमा बारे खबर आएको कुरा सुन्ने बित्तिकै उनी काम गरिरहेको ठाउँबाट जुरुक्क उठेर एक झलक नट्टुलालको आँखामा हेरिन् ।
उनको आँखाले नट्टुलाल प्रति कृतज्ञता बोध गराईरहेको थियो ।
उनी दायाँबायाँ एक झलक नहेरी घरतिर लागिन् ।

घर अगाडि केहि बन्दुक धारी युवायुवती उभिरहेका थिए । तिनीहरुले टाउकोमा एउटा तारा अङ्कित रातो फित्ता बाँधेका थिए । त्यहाँ उभिएका सबै एउटै टाटेपाटे रङ्गको पोसाकमा थिए । तिनीहरुलाई देख्नासाथ बैजयन्तीलाई आफ्नो आमाको सम्झना आयो । कुनै समय उनकी आमा पबि यस्तै पोसाकमा सजिएर, काँधमा बन्दुक भिरेर उनलाई भेट्न आउँथिन् । त्यो समय सम्झँदा उनी भित्रभित्रै जोरसँग भक्कानिदै थिई ।

त्यस समुहबाट एउटा अलि परिपक्व र शालीन जस्तो लाग्ने युवा बैजयन्ती नजिक आयो र भन्यो, “बैजयन्ती नेपाली तिमी हौ ?”

‘हजुर मै हो ।’ बैजयन्तीले अलि संकोचित भावमा भनिन् ।

उ भन्न थाल्यो, “हेर तिम्री आमाले हामीलाई ठुलो योग्दान दिएर गएकी छिन् । उनको संघर्षले हामीमा पुरै नयाँ उर्जा थपिएको छ । उहाँले रणभुमीमा खर्चिनु भएको जोस र जाँगरले हाम्रो युद्धमा नयाँ आयाम थपिएको छ ।”

केहिबेर उ मौन भएर भुइँ तिर एकोहोरिएर हेरिरहयो ।

बैजयन्ती निर्निमेष त्यस युवब तर्फ हेरिरहिन् । उनी त्यस युवब सेनाबाट थप अरु कुरा सुन्न चहान्थिन् ।
उ फेरि भन्न थाल्यो, ” हेर बैजयन्ती तिमी खुसी हौ, तिम्रो आमाको नाम  ईतिहासको पानामा लेखिएको छ । शताब्दी शताब्दीसम्म पनि तिम्री आमाको नाम अमर रहिरहनेछ । “

त्यही समुह बाट एउटा युवती बैजयन्ती नजिक पुगिन् र उनको काँधमा हात राख्दै भनिन्, “बैजयन्ती तिम्री आमा शाहीद भएकी छिन्, उनि देशको लागि सधैं अमर रहिरहनेछिन् । उहाँ बाट हामीले धेरै कुरा सिकेका छौं । उहाँले देखाएको बाटो हामी कहिलेई बिर्सने छैनौ ।
” हो बैजयन्ती तिम्री आमा देशको लागि बलिदान भएकी छिन् । उनको संघर्ष प्रती राज्य सँधै कृतज्ञ हुनेछ । अब हाम्रो युद्ध सकिएपछि राजधानीमा उहाँको सम्झनामा भब्य कार्यक्रम आयोजना हुनेभएको छ, यो कुरा अध्यक्ष कमरेडले स्वयं भन्नुभएको हो । अब सारा देशले तिम्रो आमालाई चिन्ने छ ।”

उहि अघिको युवक बोलिरहेको थियो ।

तिनीहरुले त्यसो भनिरहँदा बैजयन्तीलाई पहिले आमाले भनेको अध्यक्ष कमरेडको कुरा याद आयो । उनी मनमनै सोचिरहेकी थिईन्, यो अध्यक्ष कमरेड भन्ने मान्छे कुनै  महान पुरुष हुनुपर्छ, जो जुँगाको ताउ दिरहेको हुनेछ, अनुहार रातो र पुरै चाउरी परेको हुनेछ, कपाल पुरै झरेर तालु घाममा टलक्क टल्कने हुनेछ, एकदम रिसालु स्वभावको हुनेछ तर मनको सफा र हातमा एउटा छडी बोकेका हुनेछन् , सहाराको लागि होइन रवाफका लागि ।

आमाको बारे त्यस्तो खबर सुन्दा उनी भित्रभित्रै सोचमग्न भईन तर उनको आवरणमा झट्ट कुनै परिवर्तन आएन । यश बाट प्रष्ट हुन्थ्यो उनी निकै कठोर हृदयको भैसकेकि थिईन् । आमा सहिद भएको र सारा देशले चिन्ने कुराले उनी केही खुसी भएकी थिईन् तर त्यो भन्दा कयौं गुना बढी दुखी आमाको वियोगमा भएकी थिईन् । त्यति भनेर ति सेनाका युवायुवतीहरु त्यहाँबाट आफ्नो स्थानतिर लागे । एकजना युवती भने समुहको पछाडि थिईन्  । जादाजादै उनले बैजयन्तीलाई भनेकी थिईन्, “हेर बैजयन्ती हामी पनि तिम्रो जस्तै पीडाले ग्रसित छौं । धेरै दुखी नहोउ, हामी छौँ ।”

तिनीहरु गएपछि बैजयन्ती अगेना छेउ बसेर टोलाईरहिन् । मध्यरातसम्म पनि एकतमासले टोलाईनैरहिन् । घरीघरी झसङ्ग भएर बिउझिन्थिन् र पुरानै अवस्थामा पुगिहाल्थिन् । उनी न त रुन सक्ने अवस्थामा थिईन् न त बोल्न सक्ने अवस्थामा नै थिईन् । टोलाउदा टोलाउदै उनी त्यही अगेना छेउ भुसुक्क निदाउन पुगिन् ।

केहि दिनपछि तिनै सेना कम्ब्याट ड्रेसमा उनको घर अगाडि उपस्थित भए । यसपटक तिनिहरु अलिक गम्भीर मुद्रामा थिए । उहि पहिलेको परिपक्व र शालीन जस्तो लाग्ने युवा उनको अघि आयो र भन्न थाल्यो, “बैजयन्ती तिम्री आमाको दुश्मन द्वारा हत्या भएको हो । तिनीहरुले तिम्री आमाको निर्मम हत्या गरेका हुन् ।

तिनीहरु अब हाम्रो मात्र नभएर तिम्रो पनि दुश्मन हुन् ।” बैजयन्ती निकैबेर घोत्लिरहिन् । “को हुन् ती दुश्मन ?” बैजयन्तीले निकै मलिन आवाजमा प्रश्न गरिन् । “ती दुश्मनहरु आर्मी र पुलिसहरु हुन् । तिनीहरुले हामीलाई आफ्नो लक्ष्य हाँसिल गर्नबाट बन्चित गरिरहेका छन् । आफुलाई देश र जनताको रक्षक भन्छन् तर देशकै भलाईको निम्ति गरिरहेको कार्य आत्मसात गर्न सकिरहेका छैनन् । हामी देशमा आम जनताको अधिकार सुनिश्चित गर्ने पक्षमा छौ तर तिनीहरु त्यस कुराको पक्षमा छैछैनन्”

केहिबेर सबैमाझ सन्नाटा छायो ।

” हो बैजयन्ती अब तिमिले तिम्री आमाको हत्यारा सङ बदला लिनुपर्छ । अब हामी एकजुट भएर ती दुश्मन बिरुद्ध लड्नु पर्छ । ती दुश्मनहरुलाई पाखा नलगाए सम्म हाम्रो युद्ध निश्चिति बिन्दुमा पुग्ने छैन । ती दुश्मनलाई पाखा लाए मात्रै हाम्रो युद्ध सफलताको सिढीमा उक्लन सक्छ र युद्धले सफलता प्राप्त गरे मात्रै तिम्री आमा र सारा नेपालीले मुत्ती पाउनेछन् ।”

बैजयन्तीले कुनै प्रतिक्रिया दिनन् मात्र टोलाईरहिन् । त्यहाँ उपस्थित सबैले बुझिसकेका थिए, बैजयन्तीले उत्त प्रस्तावको मौन समर्थन र स्वीकार गरिरहेकी थिईन् ।

निकै सोचबिचार गरेर बैजयन्ती पनि निधारमा तारा अङ्कित रातो फित्ता बाँधेर रणभुमीमा उत्रिएकि थिईन् । उनी गाउँका अरुजस्तै न त रहरले युद्धमा होमिएकी थिईन् न त कुनै बाध्यताले । उनलाई त आफ्नो आमाको हत्यारा भनिएका कथित दुश्मनहरु सङ बदला लिनु थियो ।
लामो साधना र प्रशिक्षण पछि उनलाई पनि युद्ध स्थलमा पठाईएको थियो । उनमा पनि उनकी आमामा जस्तै निकै जोश, जाँगर र तादम्यता थियो । तिनै गुण भएकाले उनी निस्वार्थ रुपमा युद्धमा लागिरहिन् ।

सुरुसुरुमा त उनलाई निकै औडाहा भएर आउँथ्यो । रातदिन जङ्गलमै डुलि हिँड्नुपर्थ्यो । सुत्न समेत राम्रोसँग पाईदैन थ्यो । हर घडि दुश्मन बारे चनाखो भैरहनुपर्थ्यो । हरेक समय तम्तयार भएर बस्नुपर्थ्यो, चाहे मस्त निन्द्रामा भएको अवस्था होस्, चाहे खाना खान लागेको अवस्था होस्  ।

उनी निकै फुर्तिलि भएकोले सबै उनलाई राम्रो मान्दथे । त्यस अनुरुप उनी अरुसङ पनि राम्रो व्यावहार गर्थिन् । उनलाई कमान्डरले एउटा क्रान्तिकारी नाम दिएका थिए । उनी सबै माझ त्यही नामले परिचीत थिइन् । उनको लगनशीलताका कारण कमान्डर मात्रै नभएर सबै समकक्षीहरु पनि प्रसन्न थिए ।

एकदिन जङ्गलमा डुल्ने क्रममा उनी लगायत उनको साथी दुश्मनको आशपासमै पुगे । त्यो कुराको चाल पाउनासाथ दुश्मन पनि सकृय भएर आक्रमण थालिहाल्यो । लामो समयसम्म दुबै पक्षबिच दोहोरो भिडन्त भैरह्यो । दुश्मन तर्फ बाट प्रहार भएको गोलि सिधै आएर बैजयन्तीको छातिमा ठोक्किन पुग्यो ।

गोलि लाग्नासाथ बैजयन्ती बतासले ठुलो रुख ढालेझै डङरङ्ग ढलिन् । उनी ढलेको ठाउँमा रगतको आहाल जम्मा भएको थियो । उनी लडेपछी निकैबेरसम्म दोहोरो भिडन्त चलिरह्यो । कयौं घाइते भए त कयौं सहिद भए । अब समबेदना प्रकट गर्दै युद्धको बहकाउमा लगाउन बैजयन्तीका कोहि थिएनन् ।

त्यस्को केहि समय पछी शान्ति सम्झौता भयो । त्यसै दिनबाट बैजयन्ती नामक पात्र युद्धको रुमानी दुनियाँमा हराएर गईन् । युद्ध सकिएपछि आम जनतालाई पहिलेभन्दा केहि सहजता भयो ।

देश पुरानै अवस्थामा फर्कियो । शान्ति सम्झौता पछि बैजयन्ती र उनकी आमाको नाम कहिलेई सुन्निएन ।  तिनीहरुको फोटो पार्टी कार्यलयको कुनै अँध्यारो भित्तामा सिमित भए । युद्ध सकिएपछि अध्यक्ष कमरेड प्रधानमन्त्री पनि भए तर उनले बैजयन्तीकि आमाको नाममा सम्मान कार्यक्रम आयोजना गरेको कुरा कहिले सुनिएन ।

विशाल भट्ट :