अब कतार जान एक रुपैयाँ तिर्नु पर्दैन : गोकर्ण बिष्ट

प्रकाशित मिति : : बुधबार, साउन ३०, २०७५

काठमाडौँ, ३० साउन । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् ।

उनकाअनुसार यसका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको छ । अहिले पनि कतारमा जाने श्रमिकका लागि फ्रि भिसा र टिकेटको प्रावधान लागू छ । तर, कार्यान्वयन भएको छैन ।

अब भने सरकारले विशेष व्यवस्थामार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको हो । ‘कतार जाने श्रमिकका लागि विशेष व्यवस्था गर्न हाम्रो प्रयत्न जारी छ । केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेका छौं,’ बिष्टले भने,’त्यसको लागि सम्झौताको तयारी अन्तिम चरणमा छ ।