अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेपछि…

प्रकाशित मिति : : बुधबार, साउन ३०, २०७५

काठमाडौँ,साउन ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुटनीतिमा कमजोर रहेको भन्दै बेला–बेला आलोचना हुने गरेको छ ।

कतिपय कुरालाई ख्यालठट्टाको रुपमा लिइदिने र कुटनीतिको सामान्य मर्यादा पनि बिर्सेर बोल्ने ट्रम्पको बानी रहेको भन्दै उनको निकै आलोचना हुने गरेको छ ।
पोलिटिको’ अनलाइनका अनुसार राष्ट्रपति ट्रम्पले २०१७ जुनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ह्वाइट हाउस भ्रमणको बेला नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेर उच्चारण गरेका थिए ।

उनले नेपाल र भुटान भारतकै भाग भएको भन्दै त्यस्तो उच्चारण गरेको पोलिटिकोले उल्लेख गरेको छ । पोलिटिकोका अनुसार भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका बेला राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाका अधिकारीहरुसँग ‘मोदीले श्रीमती लिएर आएका छन् कि छैनन्’ भनेर सोधेका थिए । स्टाफहरुले मोदी श्रीमतीसँग धेरै पहिलादेखि टाढा भएको बताएपछि ट्रम्पले ठट्टा गर्दै भनेका थिए, ‘ए, त्यसो भए उनका लागि म सेटिङ मिलाइदिन्छु ।’

पोलिटिकोका अनुसार त्यही भेटमा राष्ट्रपति ट्रम्पले नेपाल र भुटानको नाम उच्चारण गर्दा द्विविधामा परेका थिए । आफूलाई थाहा नभएको विषयबस्तुमा बोल्दा ट्रम्पले कहिलेकाहीँ अन्य शब्दहरु बोलेर टार्ने गरेको एक अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले उल्लेख गरेको छ ।